काठमाडौँ। केही सञ्चारमाध्यमहरूमा प्रभु बैंक लिमिटेड, बैंकका सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर सत्यतथ्यको पर्याप्त पुष्टि नगरी प्रकाशित तथा प्रसारित भ्रामक र अतिरञ्जित समाचारहरूप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले विज्ञप्ति जारी गर्दै यस्ता दुराशययुक्त समाचारहरूको पूर्ण रूपमा खण्डन गरेको छ।
बैंकद्वारा जारी आधिकारिक धारणा अनुसार, तथ्यहीन समाचारका कारण बैंकको संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान-मर्यादा र बैंकप्रतिको सर्वसाधारणको विश्वासमा असर पुर्याउने प्रयास गरिएको भन्दै बैंकले गम्भीर असहमति व्यक्त गरेको छ।
नियमित प्रशासनिक प्रक्रिया र कानुनी पालना
बैंकभित्र कर्मचारी सरुवा, कार्य जिम्मेवारी समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया, धितो लिलामी सूचना प्रकाशन लगायतका कार्यहरू बैंकिङ व्यवसायका नियमित र कानुनी अभ्यासहरू भएको बैंकले स्पष्ट पारेको छ। कुनै पनि आधार र प्रमाणविना यस्ता नियमित व्यावसायिक प्रक्रियालाई तोडमरोड गरी समाचार सम्प्रेषण गर्नु व्यावसायिक आचारसंहिता अनुकूल नहुने विज्ञप्तिमा उल्लेख छ।
कर्जा फाइल अनुसन्धान र नियामक मापदण्ड
विगतका केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएका र सक्षम अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा बैंकले नियामक निकायका प्रावधान र प्रचलित कानुनको पूर्ण पालना गरिरहेको जनाएको छ। आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको र भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन बैंक प्रतिबद्ध रहेको बताइएको छ।
साथै, बैंकको सञ्चालक समिति र व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू नेपाल राष्ट्र बैंकका निर्देशिका एवं नियामक मापदण्ड अनुसार नै हुँदै आएको र भविष्यमा पनि सोही अनुसार सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ।
सञ्चारमाध्यम र सरोकारवालालाई अपिल
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुमन शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै समाचार प्रकाशन/प्रसारण गर्नुअघि सत्यता, तथ्यपरकता र विश्वसनीयताको पुष्टि गर्न सञ्चारमाध्यमहरूसँग आग्रह गरिएको छ।
साथै, निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी, ग्राहकवर्ग र लगानीकर्ताहरूलाई बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचारको हकमा आधिकारिक रूपमा जारी गरिएका सूचना वा विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरिएको छ।