देशिक अध्ययनमा जाने विद्यार्थीका लागि नबिल बैंकको ‘एजुकेशन हब’: परामर्शदेखि कर्जासम्म एकै छानामुनि

देशिक अध्ययनमा जाने विद्यार्थीका लागि नबिल बैंकको ‘एजुकेशन हब’: परामर्शदेखि कर्जासम्म एकै छानामुनि

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नेपाली विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी नबिल बैंकले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उक्त हबको उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय शिक्षाका लागि बाहिरिने विद्यार्थीहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै जाँदा उनीहरूले व्यहोर्नुपर्ने बैंकिङ, वित्तीय तथा प्रक्रियागत झन्झटलाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो नयाँ अवधारणा अघि सारेको हो। हबमार्फत विदेश अध्ययनको प्रारम्भिक योजना बनाउने चरणदेखि विश्वविद्यालय भर्ना प्रक्रिया, शैक्षिक कर्जा व्यवस्थापन, विदेशी मुद्रा सुविधा र अध्ययन पूरा भएपछिको कर्जा भुक्तानीसम्मका सम्पूर्ण बैंकिङ सहायता ‘वान स्टप सल्युसन’का रूपमा एकै स्थानबाट उपलब्ध गराइने बैंकले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले शिक्षामा गरिने लगानी कुनै एक व्यक्तिमा मात्र सीमित नभई समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणसँग जोडिने बताए। देशैभरका शाखाहरूमा कम्तीमा एउटा एजुकेशन हब काउन्टर स्थापना गरी यस पहललाई पहुँचयोग्य बनाइने जानकारी दिँदै उनले भावी पुस्तालाई सशक्त बनाउन बैंकले यस्ता नवीन प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाए। यस्तै, अष्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले अष्ट्रेलिया र नेपालबीचको शैक्षिक सम्बन्धलाई यस्ता पारदर्शी र भरपर्दा बैंकिङ प्रणालीले अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै नबिल बैंकको यस कदमको सराहना गरे।

परम्परागत बैंकिङ सेवाभन्दा फरक ढंगले सञ्चालन हुने यस हबको प्रमुख विशेषता विद्यार्थीलाई अध्ययन अवधिभर उपलब्ध गराइने ‘मोरेटोरियम सुविधा’ हो। यस सुविधाले अध्ययन जारी रहँदा नियमित किस्ता तिर्नुपर्ने मानसिक र वित्तीय दबाबबाट राहत दिँदै विद्यार्थीलाई आफ्नो पढाइ, अनुसन्धान र सीप विकासमा ध्यान केन्द्रित गर्न मद्दत पुर्‍याउनेछ। हबमा अनुभवी र विशेषज्ञ टोली रहनेछन्, जसले विद्यार्थी र अभिभावकलाई सही वित्तीय योजना बनाउन परामर्शसमेत दिनेछन्।

नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवालीका अनुसार नेपालको बैंकिङ क्षेत्रमा वित्तीय परामर्श, कर्जा र विदेशी मुद्रा सुविधासहितको यस्तो एकीकृत सेवा पहिलो पटक ल्याइएको हो। बैंकका सञ्चालक अनन्त पौड्यालले ग्राहककेन्द्रित नवप्रवर्तनका रूपमा यस हबले शिक्षा क्षेत्रमा नबिल बैंकलाई वित्तीय एवं ज्ञान साझेदारका रूपमा स्थापित गर्ने बताए।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर रहेका २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। बैंकले पछिल्लो समय ‘बैंकिङ एण्ड बियन्ड’ अवधारणाअन्तर्गत आफ्ना सेवाहरूलाई थप विशिष्टीकृत र फराकिलो बनाउँदै लगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी