सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ, १७ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ ।

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभएको उल्लेख गर्दै उहाँको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उहाँलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र नभई उहाँका आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो । साथै हाजिरीजवाफ प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि सङ्घर्षको कठिन बाटो रोज्नुभएको उल्लेख गर्नुभयो । उहाँहरू जस्तै अग्रजको त्याग र समर्पणबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उहाँको भनाइ छ ।

अमात्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको रक्षाका लागि आफूहरू कटिबद्ध भएर लाग्ने सहसंयोजक नेपालले उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी