झापा, साउन १६ । झापाका दुई स्थानीय तहमा नेपाली कम्युनिष्ट पार्टीको पालिका स्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रमबिच पार्टीको सांगठनिक सुदृढीकरण र नयाँ कार्यसमिति घोषणा गरिएको हो।
कार्यक्रममा शिवसताक्षी नगरपालिकामा १०१ सदस्यीय र हल्दिबारी गाउँपालिकामा ५१ सदस्यीय पालिका समितिको घोषणा गरिनुका साथै नयाँ कार्यसमितिलाई सपथ ग्रहण समेत गराइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं झापा सह इन्चार्ज सिपि कडरियाले देशको आर्थिक नीति र वर्तमान राजनीतिक परिस्थितिबारे चर्चा गर्नुभयो। उहाँले राज्यले कृषि क्षेत्रको बेवास्ता गरेको भन्दै यो अवस्थाको अन्त्य नभएसम्म अर्थतन्त्र माथि उठ्न नसक्ने बताउनु भयो ।
देशमा कुल घरधुरीको ६२ प्रतिशत (अर्थात ४० लाख १३ हजार घरधुरी) र कुल जनसंख्याको ६७ प्रतिशत हिस्सा कृषिमा संलग्न रहेको र कुल जीडीपीको एक चौथाई योगदान कृषि क्षेत्रको रहेपनि सरकारले कृषिलाई प्राथमिकतामा राख्न र प्रविधिलाई नेतृत्वदायी भूमिका (Leading Role) मा ल्याउँदै स्वाधीन पुँजी र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न अरुचि देखाएको बताउनु भयो ।

अर्को प्रसंगमा नेता कडरियाले पछिल्लो पार्टीले गरेको एमालेसँगको सहकार्य बाध्यकारी र जिम्मेवारीपूर्ण कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस हठात प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रदेश सरकार र संरचना उपर आउने सम्भावित गतिरोध, र अन्ततः व्यवस्थामाथि नै प्रहार हुन सक्ने खतरालाई सामना गर्न नेपाली कम्युनिष्ट पार्टीको एमालेसँगको सहकार्य एक प्रकारको जिम्मेवारीबोध सहितको बाध्यकारी कदम हो।”

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य झलक सिंह दर्लामी मगरको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै, अतिथिहरूमा जिल्ला सह-इन्चार्ज तथा केन्द्रीय सदस्य वासु दुलाल, जिल्ला संयोजक तथा केन्द्रीय सदस्य बीपी भट्टराई लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवगठित समितिहरूले स्थानीय तहमा पार्टीको संगठनलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।
साथै बिर्तामोड र अर्जुनधाराको नगर एकता बैठक क्रमश आगामी श्रावण २१ र २४ गते तय गरिएको छ ।