विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

  • बिहिबार, साउन १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

“म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।” उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री शाहले घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकिएको बताउनुभएको छ ।

घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने प्रयास निरन्तर भइरहेको उहाँको भनाइ छ ।

“घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ, म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री शाहले अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील रहेको समेत स्पष्ट पार्नुभएको छ ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको र स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

“स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नु भएको छ”, उहाँले भन्नुभयो, “देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।”

प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामाग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न, नगराउन समेत अनुरोध गर्दै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्नुभएको छ ।

“प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ”, उहाँले भन्नुभयो । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने उल्लेख गर्दै उहाँले शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिने समेत बताउनुभयो ।

“धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो, संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो”, उहाँले भन्नुभयो, “हाम्रो इतिहास साक्षी छ -कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन् ।” सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तीको बादल हटाउनु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले मैथलीमा सम्बोधन गर्दै राष्ट्रिय एकता कायम राख्न आग्रह गर्नुभयो । “हम आमनागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल क रहल छी”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी