वीरेन्द्रनगर, १३ साउन । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष उहाँले शपथ ग्रहण गर्नुभएको हो ।
नेकपा संसदीय दलका नेता शाही मंगलबार नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे राजनीतिक सहमतिअनुसार कर्णालीमा नयाँ सत्ता समीकरण बनेको हो । ४० सदस्यीय प्रदेशसभामा सभामुखबाहेक नेकपाका १४ र एमालेका ९ गरी २३ जना सांसदको समर्थन शाहीलाई रहेको छ ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले बुधबार मुख्यमन्त्री शाही एक्लैले शपथ लिनुभएको हो । मन्त्रालयको संख्या र जिम्मेवारीबारे दुई दलबीच छलफल जारी रहेकाले सहमति जुटेलगत्तै मन्त्रिपरिषद् विस्तार गरिने बताइएको छ । यसअघि शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्दै सुशासन, विकास, रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सत्ता साझेदार दलहरूबीचको सहकार्य र सहमतिकै आधारमा कर्णालीको विकासलाई तीव्रता दिने स्पष्ट पार्नुभयो ।