काठमाडौँ, १३ साउन । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्त पदमा गुरु वाग्ले तथा डा. राजीव सुब्बाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्को सिफारिसमा परेका आयुक्तद्वय वाग्ले र सुब्बाको मंगलबार तथा प्रस्तावित प्रमुख आयुक्त कार्कीको बुधबार समितिले सुनुवाइ गरेको थियो । सुनुवाइ प्रक्रिया सकिएसँगै समिति सभापति वोधनारायण श्रेष्ठले नियमावलीबमोजिम तीनै जनाको नाम सर्वसम्मत अनुमोदन भएको घोषणा गर्नुभयो ।
नाम अनुमोदन गरेसँगै समितिले पदाधिकारीहरूलाई सुनुवाइका क्रममा सांसदहरूले दिएका सुझाव समेटेर आफ्नो कार्ययोजना परिमार्जन गर्न निर्देशन दिएको छ । परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र लक्ष्य हासिल गर्ने ठोस क्रियाकलाप खुलाएर पुनः समितिमा पेस गर्नुपर्ने निर्णय गरिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।