काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबारमा जारी सर्वदलीय बैठकमा वर्तमान सरकारको कार्यशैली र भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको छ। सुनसरी घटना लगायतका समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै थापाले संकटका बेला सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो।
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन भएकाले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बैठकबाट केही चाँडो निस्कनुभएका थापाले रास्वपा सभापतिमार्फत सरकारलाई प्रश्न सोधेको बताउनुभयो। उहाँले भन्नुभयो, “माननीय सभापतिमार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ– यतिखेर सरकार के गर्दैछ? कहाँ छ?”
मुलुकमा शान्ति सुरक्षा र सद्भाव कायम गर्ने सवालमा सरकारले आवश्यक समन्वय र नेतृत्व लिन नसकेको भन्दै थापाले कडा टिप्पणी गर्नुभयो। “सरकार बन्दुकको गोली र लाठीमा मात्र सीमित हुनुहुन्न। सामाजिक सञ्जालको स्टाटसमा मात्र भेटिनुहुन्न,” नेता थापाले भन्नुभयो, “सरकार अभिभावक मात्र होइन, सरकार लिडर (नेतृत्वकर्ता) पनि हो। लिडरको सबैभन्दा ठूलो शक्ति भनेको उसले सहकार्य (कोलाबोरेट) गर्न सक्नुपर्छ। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ र अरूले पनि उसलाई विश्वास गर्ने वातावरण बनाउनुपर्छ।”
यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले नै तत्काल सर्वदलीय बैठक बोलाएर, राष्ट्रपतिलाई भेटेर तथा प्रदेश र स्थानीय सरकारसँग संवाद गरी साझा प्रयासको आधार तयार गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको भनाइ थियो।
प्रधानमन्त्रीले पहल नगरे पनि प्रमुख दलको हैसियतमा समयमै बैठक बोलाएर साझा दृष्टिकोण निर्माण गर्ने प्रयास गरेकोमा थापाले रास्वपा र सभापति रवि लामिछानेप्रति आभार प्रकट गर्नुभयो। विगतका संकटहरू स्मरण गर्दै थापाले भन्नुभयो, “हामीले भूकम्प र कोभिड महामारीका समयलाई सम्झियौँ। सुशील कोइराला प्रधानमन्त्री हुँदा भूकम्पका बेला होस् वा कोभिडका बेला, राजनीतिक दलहरूबीच जतिसुकै मतभेद भए पनि प्रधानमन्त्रीले बोलाउँदा हामी सबै कुरा छाडेर सिंहदरबार दौडिएका थियौँ। अप्ठ्यारोमा एक ठाउँ उभिनु नेपाली राजनीतिको चरित्र हो। तर अहिले प्रधानमन्त्रीले भाउ खाएर वा ठालु भएर बस्ने होइन, सबै पक्षलाई जोड्नुपर्छ।”
सभापति थापाले विशेषगरी मधेश वा तल्लो तहमा कुनै घटना हुँदा राज्यले आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने पुरानै मानसिकता प्रदर्शन गरिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो। यो राज्यको एक प्रकारको असफलताको निरन्तरता भएको टिप्पणी गर्दै उहाँले सुरक्षाकर्मीलाई मात्र दोष नदिई राज्य सञ्चालकहरूले यसको जवाफ खोज्नुपर्ने बताउनुभयो। उपयुक्त समयमा संसद्मा यसबारे छानबिनको माग उठ्ने समेत उहाँले स्पष्ट पार्नुभयो।
धार्मिक सहिष्णुता र सद्भाव जोगाउन कांग्रेस प्रतिबद्ध
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति र वर्षौंदेखि नागरिकले आर्जन गरेको पुँजी भएको उल्लेख गर्दै थापाले यसलाई जोगाउन कसैले पनि आवेग र उत्तेजनामा आउन नहुने बताउनुभयो। कांग्रेसले आफ्ना स्थानीय जनप्रतिनिधि र नेताहरूलाई फोन गरेरै संयमता अपनाउन आग्रह गरिसकेको जानकारी दिँदै उहाँले सुनसरी लगायतका प्रभावित जिल्लाका तल्लो तहमा पनि यस्तै सर्वदलीय बैठकहरू राखेर सामूहिक प्रयास थाल्नुपर्ने र त्यसमा कांग्रेस पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।