काठमाडौँ। नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई छिमेकी मुलुक भारतले औपचारिक भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको जानकारी दिनुभएको हो।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई कार्यभार सम्हालेकोमा बधाई सन्देश पठाउने क्रममै भारत भ्रमणको सद्भावपूर्ण निम्तो दिनुभएको थियो। त्यसकै निरन्तरता र औपचारिक प्रक्रियास्वरूप अहिले विदेश मन्त्रालयमार्फत लिखित निमन्त्रणा पठाइएको कूटनीतिक स्रोतले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालका अनुसार दुवै देशका कूटनीतिक संयन्त्र (परराष्ट्र मन्त्रालय र दूतावास) मार्फत आपसी समझदारीमा भ्रमणको मिति, समय र विस्तृत तालिका तय गरिनेछ।
प्रधानमन्त्रीको रूपमा बालेन शाहको यो सम्भावित पहिलो भारत भ्रमण हुने भएकाले यसलाई राजनीतिक र कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। भ्रमणका क्रममा नेपाल-भारत द्विपक्षीय हित, जलस्रोत, व्यापार, सीमा व्यवस्थापन तथा आपसी सहयोगका विविध आयाममा छलफल हुने प्रारम्भिक अनुमान गरिएको छ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीका रूपमा बालेन शाहको उदयपछि नयाँ दिल्लीले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको संकेत यो निमन्त्रणाले दिएको छ। कूटनीतिक विज्ञहरूका अनुसार छिमेकी देशका सरकार प्रमुखलाई कार्यकालको सुरुवाती चरणमै भ्रमणको निम्तो दिनु दुई देशबीचको परम्परागत र विशिष्ट सम्बन्धको निरन्तरता हो।
प्रधानमन्त्री शाहको यो भ्रमणले दुई देशबीचको तिक्तता निवारण गर्दै आर्थिक र रणनीतिक साझेदारीलाई थप बलियो बनाउने विश्वास लिइएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी र एजेन्डा तय गर्ने काम छिट्टै अगाडि बढाउने बुझिएको छ।