अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच हाल “सौहार्दपूर्ण वार्ता” भइरहेको जानकारी दिएका छन्। यद्यपि, सहमति नजुटेको खण्डमा अमेरिकाले पुनः सैन्य कारबाही सुरु गर्न सक्ने चेतावनीसमेत उनले दिएका छन्।
मिसिगनको मिलफोर्डमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामी उनीहरूमाथि अत्यधिक दबाब बनाइरहेका छौँ, तर हेरौँ यसको परिणाम के आउँछ। यतिबेला उनीहरूसँग हाम्रो धेरै सौहार्दपूर्ण कुराकानी भइरहेको छ।” यसका साथै इरानले अमेरिकासँग आफूमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउन अनुरोध गरेको दाबी पनि ट्रम्पले गरेका छन्।
यसअघि प्रकाशित विवरणहरू अनुसार ट्रम्पले इरानमाथि लगातार १३ दिनसम्म चलेको हमलापछि थप सैन्य कारबाही रोक्न निर्देशन दिएका थिए। सोमबार ट्रम्पले इरानले अमेरिकासँग बैठकको प्रस्ताव गरेको तर वार्ता असफल भएमा सैन्य विकल्प पुनः प्रयोगमा ल्याइने स्पष्ट पारेका छन्।
प्राप्त विवरण अनुसार, १८ जुनमा इरान र अमेरिकाबीच २८ फेब्रुअरीदेखि जारी द्वन्द्व अन्त्य गर्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। तत्पश्चात् अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यबाट गुज्रिने व्यावसायिक जहाजहरूमाथि इरानले गरेको कारबाहीको जवाफमा आठ जुलाईदेखि इरानमाथि कैयौँ चरणका हमलाहरू गरेको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ। त्यसको प्रतिवादमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको थियो।
क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्मका लागि १२ जुलाईमा इरानले होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको थियो। लगत्तै भोलिपल्टै ट्रम्पले अमेरिका होर्मुज जलडमरूमध्यको “संरक्षक” बन्ने घोषणा गर्दै इरानी बन्दरगाहहरूमाथि अमेरिकी नाकाबन्दी पुनः लागू गरेका थिए।