काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झूटलाई बारम्बार दोहोर्याएर सत्यझैँ स्थापित गर्ने प्रवृत्ति अहिले झन् बढ्दै गएको टिप्पणी गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्दै ओलीले अहिलेको अवस्थालाई ‘महागोयबल्स शैली’ को संज्ञा दिएका हुन्।
उनले समाजमा कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर प्रस्तुत गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसलाई मानिसहरूले सहजै पत्याउन थालेको बताए।
“कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर प्रचार गर्ने शैलीलाई गोयबल्स शैली भनिन्छ। अहिले त गोयबल्सभन्दा पनि महागोयबल्स शैली चलेको छ,” ओलीले भने।
ओलीका अनुसार अहिले समाजमा सत्य बोल्ने र सत्य स्वीकार गर्ने संस्कार कमजोर बन्दै गएको देखिन्छ। “समाज नै झूटमा रमाउन थालेको हो कि, सत्य बोल्नै छोडेको हो कि भन्ने अवस्था देखिएको छ,” उनले बताए।
उनले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न सूचना प्रविधिको सही र जिम्मेवार प्रयोग आवश्यक रहेको उल्लेख गरे। डिजिटल माध्यमको सदुपयोग गर्दै सही सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा एमालेको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरिएको थियो। ओलीले यसले पार्टी संगठनलाई अझ आधुनिक, प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।