काठमाडौँ, असार ३१ गते । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा आज बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, सञ्चालक समितिद्वारा पेस गरिएका सम्पूर्ण सामान्य तथा विशेष प्रस्तावहरू पनि सभाबाट स्वीकृत भएका छन्।
साधारण सभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश प्रस्ताव पारित गरेको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७% का दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ।
यसैगरी, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि ०.२२५६% का दरले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ। नियमनकारी निकायहरूको स्वीकृतिपछि बोनस सेयर जारी गरिने र त्यसपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि भई २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
इन्स्योरेन्सले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको जानकारी दिएको छ। २०८३ साल जेठ मसान्तसम्ममा कम्पनीले आफ्ना शाखा, उपशाखा, तेस्रो पक्ष बीमा काउन्टर र प्रादेशिक कार्यालयहरूको समायोजन गरी हाल प्रधान कार्यालयसहित १०४ वटा स्थानबाट बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ मा सेयरधनी महानुभावहरूलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न सम्पूर्ण कम्पनी परिवार निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत विज्ञप्ति मार्फत व्यक्त गरिएको छ।