बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनामा भारतबाट स्वदेश फर्कने र त्यहाँको अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। रोयटर्स समाचार एजेन्सीसँगको विशेष अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताहरूले पनि आत्मसमर्पण गर्ने योजना बनाएको खुलासा गरेकी हुन्।
बिहीबार र शुक्रबार गरी लगभग एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो ज्यानको जोखिम रहेको स्वीकार गरेकी छन्।
“म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, वा मार्न पनि सक्छन्,” हसिनाले भनिन्, “तैपनि म जानुपर्छ। मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि अहिले धेरै दबाब दिइँदै छ। मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु, जहाँ मेरा आमाबाबुलाई गाडिएको छ र जहाँ उहाँहरूको रगत बगेको छ।”
यद्यपि, हसिनाले भारतबाट बंगलादेश फर्कने निश्चित मिति भने तोकेकी छैनन्।
आन्दोलन, दमन र मृत्युदण्डको सजाय
सन् २०२४ अगस्ट ५ मा बंगलादेशमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि तत्कालीन प्रधानमन्त्री हसिना हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन्। उक्त ऐतिहासिक विद्यार्थी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनमा परी करिब १४ सय जनाको मृत्यु भएको थियो।
सोही दमन र नरसंहारको घटनामा दोषी ठहर गर्दै बंगलादेशको अदालतले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ। हसिना भारतमा रहँदै आएकी छन् भने बंगलादेशको नयाँ सरकारले उनलाई सुपुर्दगी गर्न पटक-पटक अनुरोध गरे पनि भारत सरकारले त्यसलाई बेवास्ता गर्दै आइरहेको छ।
बंगलादेशमा नयाँ राजनीतिक समीकरण: तारिक रहमान प्रधानमन्त्री
शेख हसिना देशबाट लखेटिएपछि बंगलादेशमा राजनीतिक परिवर्तन तीव्र बनेको छ। गत फेब्रुअरी १२ मा भएको आम निर्वाचनबाट त्यहाँ नयाँ सरकार गठन भइसकेको छ।
-
बीएनपीको दुई-तिहाइ बहुमत: पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेसनल पार्टी (बीएनपी) ले चुनावमा दुई-तिहाइभन्दा बढी सिट जितेको छ।
-
प्रधानमन्त्रीमा तारिक रहमान: खालिदा जियाका छोरा तारिक रहमान देशको नयाँ प्रधानमन्त्री बनेका छन्। १७ वर्षसम्म बेलायतमा निर्वासन जीवन बिताएका रहमान सन् २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै उनकी बिरामी आमा खालिदा जियाको निधन भएपछि उनी पार्टी प्रमुख बनेका थिए।
-
अवामी लिगमाथि प्रतिबन्ध: निर्वाचनमा शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाइएका कारण उसले चुनावमा भाग लिन पाएको थिएन।
निर्वाचनलाई हसिनाको टिप्पणी: ‘पूर्वनियोजित छल र प्रहसन’
भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेशमा हालै सम्पन्न संसदीय निर्वाचनको वैधतामाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले उक्त निर्वाचनलाई वैधानिक नभएको दाबी गर्दै त्यसलाई “पूर्वनियोजित छल र प्रहसन” को संज्ञा दिएकी छन्।
आफ्नो पार्टीमाथिको प्रतिबन्ध र एकतर्फी निर्वाचनका बिच पनि आफू र आफ्ना नेताहरू देश फर्किएर कानुनी र राजनीतिक लडाइँ लड्ने उनको अडानले बंगलादेशी राजनीतिमा डिसेम्बर महिनामा फेरि नयाँ तरंग आउने संकेत गरेको छ।