बङ्गलादेश : भूस्खलनमा आठ रोहिङ्ग्या शरणार्थीको मृत्यु

बङ्गलादेश : भूस्खलनमा आठ रोहिङ्ग्या शरणार्थीको मृत्यु

  • मङ्लबार, असार २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा अविरल मनसुनी वर्षापछि आएको भूस्खलनमा पाँच बालबालिकासहित कम्तीमा आठ शरणार्थीको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म भएका भूस्खलनले अस्थायी बस्ती पुरिँदा मानवीय क्षति भएको हो ।

कक्स बजारका अग्नि तथा नागरिक सुरक्षा अधिकारी डलर त्रिपुराले उद्धारकर्मीहरूले सात जनाको शव फेला पारेको र स्थानीय शरणार्थीहरूले थप एक जनाको शव निकालेको जानकारी दिनुभयो । घटनामा अन्य दुई बालबालिका घाइते भएका छन् ।

उहाँका अनुसार लगातारको वर्षा र पहाडी क्षेत्रमा आएको पानीको बहावका कारण जमिन कमजोर बनेपछि शिविरका कम्तीमा चार स्थानमा भूस्खलन भएको थियो । अधिकांश पीडित सुतिरहेका बेला माटो र भग्नावशेषले अस्थायी आवास पुरेको जनाइएको छ ।

उद्धारपछि सबै शव स्थानीय शरणार्थी नेतृत्व र प्रहरीको समन्वयमा परिवारलाई बुझाइएको छ । थप जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अधिकारीहरूले पहिरोको जोखिम रहेका पहाडी क्षेत्रबाट शरणार्थीलाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेका छन् । हालसम्म करिब एक हजार जनालाई स्थानान्तरण गरिएको बताइएको छ ।

ढाकास्थित मौसम विभागले आगामी केही दिन पनि भारी वर्षा जारी रहने पूर्वानुमान गरेकाले थप सतर्कता अपनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का अनुसार सन् २०२१ देखि २०२६ सम्म रोहिङ्ग्या शरणार्थी शिविरमा भएका यस्तै भूस्खलनमा ३६ जनाको मृत्यु भइसकेको छ भने कम्तीमा ८६ जना घाइते भएका छन् ।

हाल छिमेकी म्यान्माबाट विस्थापित १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बङ्गलादेशका विभिन्न शिविरमा बसोबास गरिरहेका छन् । म्यान्माको राखिन राज्यमा सैन्य सरकार र अराकान सेनाबीच जारी द्वन्द्वका कारण सीमापार थप रोहिङ्ग्या शरणार्थी आउन सक्ने चिन्तासमेत बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी