काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि उत्तरतर्फबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्नेछन् ।
मन्त्री खनालको चीन भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी तथा सडक सञ्जाल लगायतका विषयमा भएका कुराकानीलाई यो बैठकले थप गति दिने बताइएको छ । नेपाल बसाइका क्रममा चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत अन्य उच्च अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
चिनियाँ उपमन्त्री यानको नेपाल आगमन भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिनकै दिन हुन लागेको छ । दलाई लामाका नेपालस्थित अनुयायीहरूले जन्मदिन मनाउने तयारी गरिरहेका बेला सरकारले राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ ।
नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’ मा दलाई लामाको सहयोग रहेको कुरा बाहिर आएपछि बेइजिङ काठमाडौँप्रति सशङ्कित बनेको छ । सो आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले शुभकामना एवं बधाई पठाएका थिए । राजनीतिक वृत्तमा जेनजी आन्दोलनमा टीओबी (TOB) को संलग्नताबारे समेत चर्चा हुने गरेको छ ।
यसअघि गत मे २७ मा तिब्बती निर्वासित सरकारका प्रमुख पेनपा त्सेरिंगको शपथग्रहण समारोहमा सहभागी हुन नेपाललाई पनि निम्तो आएको थियो । तर, चीनको कूटनीतिक आग्रह र संवेदनशीलतालाई ध्यानमा राख्दै सो समारोहमा नेपालको तर्फबाट कोही पनि सहभागी नभएको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।