काठमाडौँ, असार २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार नागरिकको जीवन (लाइफ) भन्दा सामाजिक सञ्जालको लोकप्रियता (लाइक) कमाउन लागिपरेको आरोप लगाएका छन्।
सरकारको १०० दिनको कार्यसम्पादनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको समीक्षात्मक कार्यक्रममा आफ्नो धारणा राख्दै महामन्त्री थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
“यो सरकारलाई नागरिकको ‘लाइफ’ भन्दा सामाजिक सञ्जालको ‘लाइक’ को बढी चिन्ता छ र सिङ्गो संयन्त्र त्यसैमा लागिरहेको देखिन्छ,” थापाले भने, “भूमिहीन तथा सुकुम्बासीहरूको समस्यालाई कानुन बनाएर दीर्घकालीन रूपमा समाधान गरेको भए सामाजिक सञ्जालमा तत्काल ‘लाइक’ आउँदैनथ्यो, त्यसैले चर्चा कमाउनकै लागि सुकुम्बासी बस्तीमा डोजर चलाउने काम गरियो।”
सिंहदरबारबाटै शासन चलाएकोमा प्रधानमन्त्रीको प्रशंसा
सरकारका कामकारबाहीको आलोचना गरे पनि महामन्त्री थापाले प्रधानमन्त्रीको एउटा कदमको भने खुला प्रशंसा गरेका छन्। बालुवाटारस्थित सरकारी निवासबाट नभई सिंहदरबारबाटै शासन सञ्चालन गरेको भन्दै उनले प्रधानमन्त्रीको सरहाना गरे।
प्रधानमन्त्रीले आफ्ना राजनीतिक छलफल, भेटघाट तथा मन्त्रिपरिषद्का बैठकहरू निवास (बालुवाटार) मा राख्नुको साटो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै सञ्चालन गर्दै आएका छन्।
प्रधानमन्त्रीको यो कार्यशैली सकारात्मक र संस्थागत पद्धतिको विकासका लागि उदाहरणीय रहेको महामन्त्री थापाको भनाइ थियो।