विराटनगर, १५ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङमा बजार अनुगमन तीव्र पारेको छ।
अनुगमनका क्रममा खाद्य पदार्थमा कैफियत भेटिएपछि टोलीले एक व्यावसायिक प्रतिष्ठानको चामल बिक्री वितरणमा रोक लगाउँदै कानुनी प्रक्रिया अघि बढाएको छ।
नियमित बजार निरीक्षणका क्रममा गत असार ९ गते टोलीले विराटनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य र खाद्य स्वच्छतासँग जोडिएका गम्भीर लापरबाही र कैफियतहरू फेला परेको अनुगमन टोलीले जनाएको छ।
संयुक्त टोलीले अनुगमन गर्दा उक्त कम्पनीले चामलको बोरामा ब्याच नम्बर र मूल्यसमेत उल्लेख नगरी बिक्री वितरण गरिरहेको फेला पारेको थियो। यस्तै, चामल भण्डारण गरिएको गोदाममा सरसफाइको चरम कमी हुनुका साथै मुसा लगायतका जीवजन्तु नियन्त्रणको उचित व्यवस्था नभएको पाइएको छ। भण्डारण कक्षको तापक्रम समेत अत्यधिक उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।
विशेष गरी, २५ केजीका ३९ बोरा चामल मुसाले खाएको, डल्ला परेको र उक्त गुणस्तरहीन चामललाई कामदारहरूले नयाँ बोरामा राखेर पुनः प्याक गरिरहेको अवस्थामा टोलीले रंगेहात फेला पारेको थियो। उक्त चामलमा साना-साना डल्ला (चिलेसा) परेको र ती डल्लाभित्र जैविक पदार्थसमेत देखा परेको अनुगमन टोलीले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदै अनुगमन टोलीले उत्पादन मिति २०८१ चैत १५ र उपभोग्य अवधि २ वर्ष उल्लेख भएको उक्त २५ केजीको ३९ बोरा ‘स्टिम जीरा मसिनो चामल’ लाई अर्को आदेश नभएसम्मका लागि बिक्री वितरणमा पूर्ण रोक (रोक्का) लगाएको छ।
साथै, उक्त चामलको गुणस्तर थप यकिन गर्नका लागि प्रयोगशाला परीक्षण (Lab Test) का निम्ति नमुना संकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने खाद्य व्यवसायीहरूलाई ऐन बमोजिम कारबाही हुने र अनुगमन कार्यलाई निरन्तरता दिइने कार्यालयले स्पष्ट पारेको छ।