काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कूप्रचार भएको बताएका छन् ।
काठमाडौँमा आयोजित आफ्नो नयाँ पुस्तक ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ को विमोचन कार्यक्रममा बोल्दै नेता खनालले आफूविरुद्ध नियोजित रूपमा कूप्रचार गरिएको बताएका हुन् ।
आफू कुनै पनि गुटमा नरहेको प्रष्ट पार्दै नेता खनालले यस्ता कूप्रचारको खेल नखेल्न सुझाव दिए । उनले ‘वैज्ञानिक समाजवाद’ विचार समूहको निर्माणलाई पार्टी विभाजनको रूपमा नलिन आग्रह गर्दै यो अभियान नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास भएको दाबी गरे ।
वर्तमान समयमा कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी देखिएकाले विचार, नीति र सिद्धान्तमा बहस चलाएरै छाड्ने र आन्दोलनलाई पुनः बलियो शक्तिको रूपमा स्थापित गर्ने खनालले उद्घोष गरे ।
नेतृत्व परिवर्तनको प्रसंग उठाउँदै उनले दुई कार्यकालको उमेर हद बिना कुनै पनि कम्युनिष्ट पार्टी चल्नै नसक्ने तर्क गरे । कम्युनिष्ट पार्टीलाई एकीकृत र विकसित नगरीकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन रहेको उनको भनाइ छ ।