काठमाडौँ। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गरिब, मजदुर, किसान र उत्पीडित वर्गको हित विपरीत उभिएको आरोप लगाएका छन्। शुक्रबार पार्टी कार्यालयमा डिजिटल सदस्यता वितरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले सरकारका हालैका नीति, कार्यक्रम र बजेट उच्च वर्गको स्वार्थ रक्षा गर्नमा मात्र केन्द्रित रहेको दाबी गरे।
“सरकारका नीति, कार्यक्रम, बजेट र अन्य निर्णयहरू हेर्दा यो सरकार नेपालका गरिब, मजदुर, किसान र उत्पीडित वर्गका विरुद्धमा छ भन्ने प्रस्ट देखिन्छ,” प्रचण्डले भने, “यो सरकार केवल उच्च वर्गको हित रक्षा गर्नमा केन्द्रित छ।”
संयोजक प्रचण्डले जनताको मौलिक हक र ट्रेड युनियन अधिकारका लागि आफ्नो पार्टीले सदनदेखि सडकसम्म सशक्त आवाज उठाउने उद्घोष गरे। उनले देशका उत्पीडित वर्गको अधिकार रक्षाका लागि संसद्मा रहेका सबै विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र आवश्यकता अनुसार सडक संघर्षका कार्यक्रमहरू पनि अगाडि बढाउने बताए।
सङ्घीयता र समावेशिताका लागि लडेका शक्तिहरूलाई कमजोर पार्न विभिन्न खेल भइरहेको भन्दै उनले पार्टीका नेता-कार्यकर्ताहरूलाई चनाखो रहन समेत आग्रह गरे। “प्रतिक्रियावादीहरूले चालेको कचिङ्गल, झमेला र भ्रम पैदा गर्ने प्रयासमा पार्टीकै केही साथीहरू अलमलिन लागेका छन्, यसप्रति सबै सजग हुन जरुरी छ,” उनले थपे।