बनियानी (झापा), ३ असार । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै झापाका चिया उद्योगीहरूले भोलि (असार ४ गते) देखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेका छन्।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उद्योगीहरूले यस्तो कडा कदम चालेका हुन्।
नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सङ्घका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँसम्म हुने गरेको छ। त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको थियो। तर, भारतीय पक्षको नयाँ नीतिले निर्यात ठप्प पारेपछि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरूको भनाइ छ।
विकल्प खोज्न सरकारसँग माग
पत्रकार सम्मेलनमा बोल्दै सङ्घका प्रतिनिधि (पराजुली) ले भारतको विकल्पमा बङ्गलादेश, पाकिस्तान लगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने सम्भावना रहेको औंल्याउनुभयो। उहाँले ती देशहरूमा निर्यातका लागि तत्काल पहल गरिदिन सरकारसँग माग समेत गर्नुभयो।
नेपालको चिया क्षेत्रले प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ भने राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ। उद्योगीहरूको यो घोषणासँगै हजारौँ श्रमिकको रोजगारी र अर्बौँको लगानी जोखिममा परेको छ।