काठमाडौँ, १ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरवाहीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भनी दिएको निर्देशन सार्वजनिक भएको छ।
आइतबार आयोजनाको वस्तुस्थितिबारे जानकारी लिन पुगेका मन्त्री लम्सालले वर्षायाम सुरु भइसकेकाले सम्भावित जोखिम न्यूनीकरण गर्दै सडक निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिए। उनले विकास निर्माण जस्तो संवेदनशील विषयमा हुने कुनै पनि किसिमको लापरवाही वा अनावश्यक ढिलाइ सरकारलाई स्वीकार्य नहुने चेतावनी दिए।
अनुगमनका क्रममा निर्माण पक्षले बिजुलीको पोल नसारिएका कारण सडक विस्तारको काम अवरुद्ध भएको गुनासो गरेपछि मन्त्री लम्साल आक्रोशित बनेका थिए। उनले पोल सार्ने जिम्मेवारी पाएका ठेकेदारलाई तत्काल उपस्थित गराउन कर्मचारीहरूलाई निर्देशन दिँदै भने:
“यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस्, मतलब भएन। चाँडोभन्दा चाँडो पोल सार्न पर्यो। यहाँका पब्लिकले धेरै दुःख पाए।”
मन्त्री लम्सालले आयोजनाको कामलाई बिनाअवरोध अगाडि बढाउन आवश्यक पर्ने निर्माण सामग्रीको व्यवस्थापन र सहजीकरणका लागि आयोजनाका कर्मचारीहरूलाई समेत निर्देशित गरे।
रणनीतिक महत्वको करिब ९५ किलोमिटर दूरी रहेको नागढुङ्गा–मुग्लिन सडक खण्डलाई तीनवटा प्याकेजमा विभाजन गरी स्तरोन्नति भइरहेको छ:
पहिलो प्याकेज: नागढुङ्गा–नौबिसे खण्ड
दोस्रो प्याकेज: नौबिसे–मलेखु खण्ड
तेस्रो प्याकेज: मलेखु–मुग्लिन खण्ड
मन्त्री लम्साल निर्माण व्यवसायीप्रति आक्रामक रूपमा प्रस्तुत भएको यो पहिलो घटना भने होइन। यसअघि गत वैशाख २८ गते मन्त्रीकै निर्देशनमा नौबिसे–मुग्लिन खण्डको निर्माण गरिरहेको स्थापित कम्पनी ‘शर्मा एन्ड कम्पनी’का सञ्चालक रमेश शर्मालाई प्रहरी नियन्त्रणमा लिई सिंहदरबार पुर्याइएको थियो।
तर, व्यवसायी शर्माले निर्माण कार्य रोकिनुमा राज्यका तर्फबाट भएका व्यावहारिक र नीतिगत अवरोधहरूका बारेमा स्पष्ट पारेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवले माफी माग्दै उनलाई छाडेका थिए। उक्त घटनाको केही समय नबित्दै जिम्मेवार ओहोदामा रहेका मन्त्रीबाट पुनः कानुन हातमा लिने शैलीको धम्कीपूर्ण अभिव्यक्ति आउनुलाई चासोका साथ हेरिएको छ।