गोरखा । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत गोरखाको पालुङटारमा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।
बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा विद्यालयलाई उक्त आधुनिक शैक्षिक सामग्री प्रदान गरिएको हो । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ स्मार्ट बोर्ड सहयोग गरिएको बैंकले जनाएको छ ।
यो प्रविधि उपलब्ध भएसँगै विद्यालयमा डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
हाल विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा डिजिटल विभाजन न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले बैंकको यस सामाजिक कार्यको उच्च प्रशंसा गर्दै यसबाट विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।