काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र ३०० वटा बिरुवा रोपेको हो ।
उक्त कार्यक्रम बैंकको फिक्कल शाखाको समन्वय, इलाम नगरपालिका तथा लुम्बिनी विश्व शान्ति मञ्चको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको बैंकले जनाएको छ ।
यस वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन कायम राख्न, हरियाली प्रवर्द्धन गर्न तथा वातावरणीय सुधारमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ । यसका साथै जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्न यो कदम प्रभावकारी हुने बैंकको अपेक्षा छ । इलाम जस्तो पर्यटकीय क्षेत्रको प्राकृतिक सौन्दर्य र हरियाली विस्तार हुनाले आगामी दिनमा दिगो पर्यटन विकासमा समेत थप सकारात्मक योगदान पुग्नेछ ।
विगत २५ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरहरू मार्फत “समुदायका लागि कुमारी बैंक” भन्ने मूल नाराका साथ विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
बैंकले देशका विभिन्न क्षेत्रमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयहरूको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरण निर्माणका लागि सरसफाइ सामग्री वितरण, तथा अनाथालयहरूमा आर्थिक एवं भौतिक सहयोग पुर्याउँदै आएको छ । साथै, सर्वसाधारणमा वित्तीय पहुँच पुर्याउन बैंकले नियमित रूपमा वित्तीय तथा डिजिटल साक्षरता अभिवृद्धिका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता समुदाय-केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।