सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ताः राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल

सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ताः राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल

  • मङ्लबार, जेष्ठ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ, १९ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ ।

भाजपा मुख्यालयमा आज उहाँहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ । भारत भ्रमणमा रहनु भएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो ।

प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत–नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो । उहाँले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताउनुभएको भाजपाले जनाएको छ । अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, सङ्गठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनुभएको थियो ।

भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको थियो ।

यसका साथै अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि चर्चा गर्दै विकास, सेवा, सुशासन तथा कल्याणकारी सेवा प्रवाह भाजपा सरकारको शासन प्रणाली र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उल्लेख गर्नुभएको थियो । उक्त भेटवार्तामा अध्यक्ष नवीनसँगै भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाले पनि सहभागी हुनुहुन्थ्यो ।

रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर तथा केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले जारी गर्नुभएको विज्ञप्तिअनुसार भेटवार्तापछि आयोजित दिवाभोज कार्यक्रममा दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी