काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रवार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक १ दशमलव ७७ अङ्कले बढेर २,७३१ को विन्दुमा पुगेर बन्द भएको हो।
आज बजारमा तीव्र उतारचढावका बीच कुल १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रह्यो।
आज दिनभरिमा ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको एक्लै ३० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस्तै, अपी पावर कम्पनी ११ करोड ४४ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्स ८ करोड ६३ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
आजको बजारबाट सबैभन्दा धेरै ‘नबिल डिबेञ्चर २०८९’ का इकाईधनीहरूले कमाएका छन्। यस डिबेञ्चरको मूल्य प्रतिइकाई ७ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, मोदी इनर्जीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले नाफा कमाएका छन्।
यता, सर्वाधिक कारोबार भएको युनियन हाइड्रोपावरका लगानीकर्ताहरूले भने आज सबैभन्दा धेरै गुमाएका छन्। उच्च खरिदबिक्रीका बीच यस कम्पनीको सेयर मूल्यमा १४ दशमलव ७९ प्रतिशतको ठूलो गिरावट (करेक्सन) आएको छ।