काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको सहजताका लागि यो डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको हो।
बैंकले दिएको जानकारी अनुसार यस अनलाइन पोर्टल मार्फत लिलाम बिक्री गरिने सम्पत्तिहरूसँग सम्बन्धित सम्पूर्ण सूचना तथा विवरणहरू एकै ठाउँमा समेटिएका छन्। ग्राहक महानुभावहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर (QR) कोड स्क्यान गरी सिधै बैंकको आधिकारिक पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र प्रवेश गर्न सक्नेछन्।
उक्त पोर्टलमा लिलामीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, वास्तविक फोटो, नक्साका साथै सो सम्पत्ति रहेको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप समेत समावेश गरिएको छ। यसले गर्दा खरिद गर्न इच्छुक व्यक्तिले घरमै बसेर सम्पत्तिको विस्तृत वस्तुस्थिति बुझ्न सक्नेछन्।
यदि ग्राहकहरूलाई कुनै सम्पत्ति खरिद गर्ने सन्दर्भमा थप जानकारी आवश्यक परेमा, सोही सम्पत्तिको विवरण भएको ठाउँमा उपलब्ध ‘मेसेज बक्स’ मा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सिधै सोधपुछ पठाउन सक्ने व्यवस्था समेत बैंकले गरेको छ।
बैंकका अनुसार यस अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग तथा गैर-बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रही लिलाम बिक्रीमा चढेका सम्पत्तिहरूको विवरण अद्यावधिक (अपडेट) गरिनेछ। खरिद गर्न इच्छुक ग्राहकहरूले बैंकको अनलाइन पोर्टलको लिङ्क प्रयोग गरी बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरणबाट लाभ उठाउन सक्ने विश्वास बैंकले लिएको छ।