काठमाडौँ, बैशाख २८ । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक, आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ (Super Wallet) सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्तालाई वालेटमा रहेको रकममा ब्याज प्रदान गर्दछ।
यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ (Neo Banking) युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।
सबैका लागि खुला
यसअघि यो ब्याज सुविधा साविकको आइएमई पे (IME Pay) बाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। अब भने खल्तीले यो सीमा हटाउँदै केवाईसी (KYC) प्रमाणित भएका सबै व्यक्तिगत प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ विस्तार गरेको हो। योसँगै खल्ती वालेट अब भुक्तानी गर्ने माध्यम मात्र नभई एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।
सुपर वालेटको विशेषता र फाइदाहरू:
आकर्षक ब्याजदर: हाल वार्षिक २.७५% का दरले ब्याज प्रदान गरिनेछ। यो दर बैंकको मानक ब्याजदर अनुसार मासिक रूपमा परिवर्तन हुन सक्नेछ।
स्वचालित ब्याज: सुपर वालेट सक्रिय भएपछि वालेटको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई महिनाको अन्त्यमा स्वतः जम्मा हुनेछ।
झन्झटमुक्त प्रक्रिया: कुनै बैंक भ्रमण वा कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिनेछ।
कसरी बन्ने योग्य?
यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ र निम्नमध्ये कुनै एक सर्त पूरा गरेको हुनुपर्नेछ:
१. कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वा
२. वालेटमा ‘ओभरनाइट ब्यालेन्स’ (Overnight Balance) न्यूनतम रु. १,००० कायम गरेको।
(नोट: यो सुविधा व्यक्तिगत खाताका लागि मात्र हो; POS र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन्।)
आवेदन दिने सहज तरिका
प्रयोगकर्ताहरूले खल्ती एपको होम स्क्रिनमा रहेको ‘सुपर वालेट’ सेक्सनमा गई ‘Apply’ बटनमा ट्याप गरेर आवेदन दिन सक्नेछन्। आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सेवा सक्रिय हुनेछ। साविकका आइएमई पे प्रयोगकर्ताहरूको हकमा यो सुविधा पहिले नै सक्रिय रहेकाले उनीहरूले पुनः आवेदन दिनु पर्ने छैन।
यस विशेष अवसरमा बोल्दै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो: “नेपालको ठूलो जनसङ्ख्या आज पनि औपचारिक बैंकिङ पहुँचभन्दा बाहिर छ। सुपर वालेटमार्फत हामीले हरेक नेपालीको—चाहे ऊ गाउँको किसान होस् वा सहरको विद्यार्थी— उसको हरेक रुपैयाँले उसैको लागि काम गरोस् भन्ने चाहन्छौँ। खल्ती अब डिजिटल भुक्तानीको माध्यम मात्र होइन, यो नेपालीहरूलाई वित्तीय अनुशासन र बचतको संस्कार सिकाउने माध्यम पनि हो। यो नेपालको वित्तीय लोकतन्त्रीकरणतर्फ एक निर्णायक कदम हो।”
आइएमई खल्ती लिमिटेडले प्रविधिको प्रयोगमार्फत लाखौँ नेपालीहरूको वित्तीय जीवन सहज बनाउन भुक्तानी र रेमिट्यान्स लगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।