काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ६० औँ वार्षिक साधारण सभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। वैशाख २१ र २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदानको गणना सकिएसँगै महासंघले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको हो।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा आसिन भएका छन्। उनीसँगै कार्यसमितिका अन्य महत्वपूर्ण पदाधिकारीहरू पनि चुनावी प्रतिस्पर्धाबाट चुनिएका छन्।
मुख्य पदाधिकारीहरूको मत परिणाम:
एशोसिएट उपाध्यक्ष: एशोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले १ हजार ७९ मत प्राप्त गरी आफ्नी प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ सुब्बालाई पराजित गरे। सुब्बाले ७५० मत प्राप्त गरेकी थिइन्।
वस्तुगत उपाध्यक्ष: वस्तुगततर्फको उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। निकै प्रतिस्पर्धात्मक देखिएको यस विधामा श्रेष्ठले ६३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे।
जिल्ला नगर उपाध्यक्ष: जिल्ला नगर उद्योग वाणिज्य समूहतर्फ दुई जना उपाध्यक्षका लागि भएको प्रतिस्पर्धामा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै कार्यसमितिमा आफ्नो स्थान सुरक्षित गरे।
एशोसियट महिला सदस्य: महिला सदस्यतर्फ जुना माथेमा १ हजार १५६ मतका साथ सानदार जित हासिल गर्दै निर्वाचित भएकी छन्।
निर्वाचन समितिका अनुसार पूर्व प्रकाशित तालिका बमोजिम मनोनयन दर्ता भई अन्तिम उम्मेदवारी कायम भएका उम्मेदवारहरूबीच वैशाख २२ गते मतदान भएको थियो। महासंघको ६० औँ साधारण सभाले आगामी कार्यकालका लागि निजी क्षेत्रको सशक्त प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले छिट्टै पदभार ग्रहण गरी मुलुकको वर्तमान आर्थिक चुनौतीहरू र निजी क्षेत्रका समस्या समाधानका लागि कार्य अगाडि बढाउने विश्वास लिइएको छ।