काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छ। नयाँ मूल्य शुक्रबारदेखि लागू हुने भएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटेको छ। यससँगै पेट्रोल २१७ रुपैयाँ र डिजेल–मट्टितेल २२५ रुपैयाँमा झरेको छ।
तर, खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर १५० रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार १४.२ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य २ हजार १६० रुपैयाँ र ७.१ किलोग्रामको १ हजार ८० रुपैयाँ कायम गरिएको छ।
यस्तै, हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ७ रुपैयाँले बढेर २६९ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोग्राम अमेरिकी डलर ४६ ले बढेर १ हजार ८३१ डलर पुगेको निगमले जनाएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने ब्रेकइभन पोइन्टमा कायम गरिएको छ।
पश्चिम एसियामा जारी युद्ध तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिले पछिल्लो समय मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ। बिहीबार इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यसूची प्राप्त भएपछि निगम सञ्चालक समिति बैठकले मूल्य हेरफेर गरेको हो।
निगमले यो मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। पछिल्लो समय इन्धनको मूल्य तीव्र वृद्धिपछि सरकार आलोचना खेप्दै आएको थियो।