काठमाडौँ – नेपालको अग्रणी निजी क्षेत्रको बैंक नबिल बैंक लिमिटेडले कर्मचारीको हित तथा कार्यक्षेत्रमा लैङ्गिक अनुकूल वातावरण निर्माणतर्फ एक महत्वपूर्ण कदम चालेको छ। बैंकले आफ्नो केन्द्रीय कार्यालय (काठमाडौँ, तीनधारा) मा ‘नबिल नर्सिङ रुम’ स्थापना गरेको छ।
बिहीबार एक विशेष समारोहबीच नबिल बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीको उपस्थितिमा संचालक समितिकी सदस्य सरिता भट्ट अधिकारीले रिबन काटी उक्त नर्सिङ रुमको उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला, अनिल केशरी शाह, नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत बैंकका अन्य उच्चपदस्थ कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
नबिल बैंकले कर्मचारीको हितलाई उच्च प्राथमिकता दिँदै बैंकमा कार्यरत आमा कर्मचारीहरूलाई कार्यालय समयमै मर्यादित, सुरक्षित र आरामदायी वातावरणमा स्तनपान गराउने सुविधा उपलब्ध गराउने उद्देश्यले यो कोठा स्थापना गरेको हो। नर्सिङ रुममा आवश्यक फर्निचर, सरसफाइ, प्राइभेसी र शिशु हेरचाहका न्यूनतम व्यवस्था गरिएको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै संचालक समितिकी सदस्य सरिता भट्ट अधिकारीले भनिन्:“यस कक्षको स्थापनामार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी थप सबल बनाएका छौं। यसले कामकाजी आमाहरूलाई बैंकको कार्यक्षेत्रभित्र नै बच्चासँग सुरक्षित रहेको महसुस गराउने विश्वास लिएका छौं। हामी नेपालको कर्पोरेट क्षेत्रमा यस प्रकारका संरचनालाई विस्तार गर्न प्रतिबद्ध छौं।”
यसैगरी नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुमलाई बैंकको संस्कृतिका लागि एउटा कोसेढुङ्गा भन्दै उद्घाटन सत्रमा भने:
“लैङ्गिक समानता र कर्मचारी हित नबिल बैंकका प्रमुख मान्यता हुन्। आज सुरु भएको यो नर्सिङ रुमले हाम्रा ती मूल्यमान्यतालाई व्यवहारमा प्रतिबिम्बित गरेको छ। यो सुरुवातले हाम्रा कर्मचारी आमाहरूको जीवनमा सकारात्मक भिन्नता ल्याउनेछ।”
उनले यो सुविधालाई केवल केन्द्रीय कार्यालयमै सीमित नराखी अन्य प्रमुख शाखा तथा विभागमा समेत विस्तार गर्ने बैंकको योजना रहेको स्पष्ट पारे।
“हेर्दा सानो कदम जस्तो देखिए पनि, यसले हाम्रा कर्मचारीमा पर्ने सकारात्मक प्रभाव ठूलो छ। हाल केन्द्रीय कार्यालयबाट थालनी भएको यो सुविधा आगामी दिनमा अन्य शाखा कार्यालयहरूमा पनि विस्तार गर्दै लैजान्छौं।”
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यस्ता पहलले बैंकको समावेशी र कर्मचारीमैत्री पहिचानलाई बलियो बनाउने बताए।
“नबिल बैंकले सधैं कर्मचारीको कल्याणलाई प्राथमिकता दिएको छ। यो नर्सिङ रुम सोही सोचको भाग हो। हामी एक सहयोगी, सम्मानित र सुरक्षित कार्य वातावरण निर्माण गर्ने यात्रामा छौं।”
उल्लेख्य छ, नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३१८ एटीएम मार्फत सेवा पुर्याउँदै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। लामो चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा सक्रिय नबिल बैंकले हाल दिगो बैंकिङको अवधारणा अँगाल्दै डिजिटल बैंकिङ प्लेटफर्म एनबैंक (Nbank) सञ्चालनमा समेत सफलता देखाइसकेको छ।
नबिल बैंकको यो पहल कार्यस्थलमा महिला कर्मचारीको आवश्यकता, प्रजनन स्वास्थ्य र ‘वर्क–फ्यामिली ब्यालेन्स’लाई संस्थागत रूपमा स्वीकार गर्ने दिशात्मक अभ्यासको रूपमा हेरिएको छ।