१७ वैशाख, रुकुमपश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारहरूसँग कुराकानी गर्दै निर्वाचन र यसको परिणामलाई असामान्य र अस्वाभाविक भनेका हुन्।
उनले भने, “परिणाम जस्तो आएको छ, त्यो पनि धेरै ठाउँका रिपोर्टहरू सुन्दा सहज रूपमा आएको देखिँदैन। कतिपय ठाउँमा उम्मेदवार आफैंले आफूले हालेको मत आफूलाई नपरेको गुनासो गरेका छन्। कतिपय ठाउँमा जित्दै–जित्दै नहुने भनिएका उम्मेदवारलाई अप्रत्याशित रूपमा धेरै मत आएको देखिएको छ भने कतिपय ठाउँमा अपेक्षित मत नै हराएको जस्तो रिपोर्ट आएको छ। ती सबैको समीक्षा गर्दा यो निर्वाचन सामान्य होइन।”
नेकपाको निष्कर्ष अनुसार यसको अध्ययन र अनुसन्धान अझ गहिरो रूपमा गर्नुपर्ने उनको भनाइ छ। तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुई–तिहाइ मतलाई भने आफूहरूले स्वीकार गरेको उनले स्पष्ट पारे।
प्रचण्डले आफ्नो पार्टीले सरकारले गर्ने राम्रा कामलाई समर्थन र नराम्रा काममा आलोचना गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
नेकपाले अब युवाहरूलाई विशेष प्राथमिकता दिने उनले उल्लेख गरे। वडादेखि केन्द्रसम्म निर्वाचनबाटै नेतृत्व चयन हुने र प्रत्येक समितिमा ५० प्रतिशत युवा तथा नवयुवाको प्रतिनिधित्व रहने व्यवस्था गरिने उनको भनाइ छ।
संयोजक प्रचण्डले समग्र कम्युनिस्ट आन्दोलनकै पुनर्गठन आवश्यक रहेको बताए। उनले भने, “हाम्रो पार्टी मात्र राम्रो बनाएर पुग्दैन, नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनकै पुनर्गठन गर्नुपर्छ। अहिलेको निर्वाचनमा कम्युनिस्टहरूले पाएको धक्कालाई ध्यानमा राख्दै यस्तो पुनर्गठन गर्ने गरी पार्टीको विस्तारित बैठकले निर्णय गरेको छ। यसका लागि पहल सुरु भइसकेको छ।”
यसैबीच, उनले सरकारका केही पछिल्ला निर्णयहरूको विरोध पनि गरे। सुकुम्वासीलाई बल प्रयोग गरेर हटाउने, ट्रेड युनियन खारेज गर्ने, विद्यार्थी सङ्गठनमाथि प्रहार गर्ने, अध्यादेश ल्याउने र पहिल्यै बोलाइसकेको संसद् बैठक स्थगित गर्ने निर्णयलाई उनले असंवैधानिक ठहराए।
पछिल्ला केही कदमले सरकार निरङ्कुशतातर्फ उन्मुख हुनसक्ने देखिएको भन्दै प्रचण्डले सरकारलाई सच्चिन आग्रह गरे। आफू अहिलेको सरकारको अभिभावक रहेको उल्लेख गर्दै उनले नराम्रा काममा सधैँ खबरदारी गरिरहने प्रतिबद्धता जनाए।
यसका साथै, उनले लामो इतिहास भएका दलहरूबीचको सहकार्यलाई प्रबर्द्धन गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका खेल्ने र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई थप सुदृढ पार्न पहल गर्ने बताए।