काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदलाई कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको अनौपचारिक छलफलमा उनले सबै सांसदको लेटरहेड, कार्डलगायतका कागजातमा एकरूपता अपनाउन र ‘माननीय’ शब्द प्रयोग नगर्न भनेको स्रोतले जनाएको छ।
सभापति लामिछानेले सांसदलाई सकेसम्म मेन्टर र सल्लाहकारको सहायता लिन तथा निरन्तर सिकाइको अभ्यास गर्न समेत सुझाए। ‘अझै धेरै कुरा सिक्न बाँकी छ,’ उनको भनाइ थियो।
त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कसैलाई पनि टिकटको प्रतिबद्धता नगर्न कडा निर्देशन दिइएको छ। वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गरी उपयुक्त उम्मेदवार चयन र प्रशिक्षणमा जोड दिइने उनले बताए।
लामिछानेले चेतावनी दिँदै भने, ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ।’