१६ वैशाख, काठमाडौँ। यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यो वृद्धि अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा लागू गरिएको हो र बढेको भाडा आज बुधबारदेखि नै कार्यान्वयनमा आएको विभागले जनाएको छ।
विभागका अनुसार अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा चल्ने मालबाहक तथा तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतले भाडा बढाइएको छ।
उल्लेखनीय कुरा के छ भने यसअघि चैत २५ गते मात्रै भाडा वृद्धि गरिएको थियो। दुई साताभित्रै पुनः भाडा बढाइएपछि सर्वसाधारणमा आक्रोश बढेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा भाडा वृद्धिमा सहमति दिएको थियो, जसअनुसार विभागले नयाँ दर लागू गरेको हो।
विभागकाअनुसार हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ। यद्यपि, विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने नियम विभागले स्पष्ट पारेको छ। विद्युतीय सवारीले भाडा बढाए कारबाही गरिने चेतावनी पनि जारी गरिएको छ।
यात्रुहरूले भने पटक–पटकको भाडा वृद्धिले दैनिक जीवनयापनमा थप सास्ती भएको बताएका छन्। “दुई सातामा दुई पटक भाडा बढ्यो। डिजेलको मूल्य घट्दा भने कहिल्यै भाडा घटाइएन। यो अत्याचार हो,” एक यात्रुले टिप्पणी गरे। अर्को यात्रुले भने, “विद्युतीय सवारीको भाडा नबढे पनि डिजेलबाट चल्ने सवारीले तुरुन्तै मूल्य बढाउँछ। जनताको ढाड सेलाउन दिएको छैन।”
आर्थिक विश्लेषकहरूले भने मूल्यवृद्धिको यो चक्रले मुद्रास्फीतिमा थप दबाब पार्ने र न्यून आय भएका वर्गलाई सबैभन्दा बढी मार पर्ने बताएका छन्। सरकारले भने इन्धनको मूल्यमा भएको उतारचढाव र परिचालन लागतभन्दा बाहिर गएर भाडा नबढाइएको स्पष्टीकरण दिएको छ।
तथापि, दुई साताको अन्तरालमै यातायात भाडा वृद्धि हुँदा सर्वसाधारण मूल्य वृद्धिकै मर्ममा परेको स्पष्ट देखिन्छ।