काठमाडौँ, १५ वैशाख (२०८३):साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजारमा उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो दिन सामान्य अङ्कले सुधार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने दोहोरो अङ्कले ओरालो लागेको हो।
मंगलबार नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २७७०.२६ विन्दुमा कायम भएको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि २.१४ अङ्कले घटेको छ। परिसूचकमा गिरावट आए तापनि बजारमा लगानीकर्ताको सक्रियताका कारण कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै २ अर्ब रुपैयाँले बढेको छ।
यस दिन २६९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएको छ। सोमबार ४ अर्ब ७४ करोड रुपैयाँको मात्र कारोबार भएको थियो।
उत्कृष्ट र कमजोर प्रदर्शन
बजारमा समग्र गिरावट आए पनि ऋणपत्र (डिबेञ्चर) को मूल्यमा भने सुधार देखिएको छ। हिमालयन बैंक बन्ड २०८६ को मूल्य सर्वाधिक ६ प्रतिशतले वृद्धि भएको छ भने शाइन रेसुङ्गा डिबेञ्चरको मूल्य ३.४० प्रतिशतले बढेको छ।
यता कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले गुमाएका छन्। त्यसैगरी रिज लाइन इनर्जीको सेयर मूल्यमा पनि १०.२७ प्रतिशतको गिरावट आएको छ।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ‘अन्य’ उपसमूहबाहेक बाँकी १२ वटै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। विशेषगरी होटल तथा पर्यटन उपसमूह २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह २.४६ प्रतिशतले ओरालो लागेका छन्। विकास बैंक र जलविद्युत उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
सर्वाधिक कारोबार हुने कम्पनी
कारोबार रकमका आधारमा आज पाल्पा सिमेन्ट अग्रस्थानमा रह्यो, जसको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। दोस्रो स्थानमा रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।