काठमाडौं, वैशाख १४ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया अन्तर्गत आयोजना गरेको ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बुक–बिल्डिङ विधिमार्फत सेयर जारी गर्न लागेको हस्पिटलले योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल गर्न वैशाख ११ गते नक्सालस्थित मेरियट होटलमा उक्त कार्यक्रम आयोजना गरेको हो।
नर्भिकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आयोजना गरेको यस रोड शोमा विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य योग्य संस्थागत लगानीकर्ताहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो।
के भयो रोड शोमा?
कार्यक्रममा नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले हस्पिटलको हालको सञ्चालन अवस्था, वित्तीय प्रगति र आगामी रणनीतिक योजनाहरूका बारेमा विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले हस्पिटलको दिगो विकास र सेवा विस्तारका सम्भावनाहरूबारे लगानीकर्ताहरूलाई स्पष्ट पार्नुभयो।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सेयरको मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण र बुक–बिल्डिङ प्रक्रियाका कानुनी प्रावधानहरूबारे जानकारी गराएको थियो। सहभागी लगानीकर्ताहरूले नर्भिकको मूल्य खोजि प्रक्रिया (Price Discovery) पारदर्शी र व्यावसायिक रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
वैशाख २१ भित्र आशय पत्र बुझाउनुपर्ने
रोड शो सफलतापूर्वक सम्पन्न भएसँगै अब बुक–बिल्डिङको आगामी चरण सुरु भएको छ। योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित आशय मूल्य (Intent Price) उल्लेख गरी सिलबन्दी खाममा नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा आवेदन दिनुपर्नेछ।
यसका लागि संस्थागत लगानीकर्ताहरूले २०८३ साल वैशाख २१ गते दिउँसो ५ बजेभित्र आवश्यक कागजातसहित आफ्नो आशय पत्र बुझाउनुपर्ने व्यवस्था रहेको छ।
नर्भिक हस्पिटलले यस प्रक्रियामा सक्रिय सहभागी भई महत्वपूर्ण सुझाव दिने सम्पूर्ण संस्थागत लगानीकर्ताहरूलाई धन्यवाद समेत ज्ञापन गरेको छ। यस कार्यले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रणालीलाई थप सुदृढ र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।