वैशाख १४, सल्यान । वर्षासहित परेको एकैछिनकाे असिनाले सल्यानमा किसानको खेतबारीमा पाकेका गहुँबाली, फलफूल र तरकारीमा क्षति पुर्याएको छ । आइतबार बेलुकी आधा घण्टाभन्दा बढी परेको असिनाले बन्गाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, बाग्चौर नगरपालिका, कुमाख गाउँपालिकाका किसानको उत्पादनमा क्षति पुर्याएको हो ।
आफूले पाँच रोपनीमा लगाएको विभिन्न जातको तरकारीमध्ये बन्दागोभी बाहेक सबै सखाप भएको र १० रोपनीमा लगाएको अनार, कागतीमा क्षति पुगेको किसानले गुनासाे गरे । बन्गाड कुपिण्डे-९ का किसान टेकबहादुर बुढाथोकीले आफनो १० रोपनीमा पाकेको गहुँबालीमा असिना पानीले क्षति पुर्याएको बताए । असिनापानीले सबै गहुँ ढालेको र बाला पानीले भिजेका उनले जानकारी गराए ।
बाग्चौर नगरपालिका-९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले कोटमौला लगायत आसपासमा किसानले बगैंचामा फल लागेका सुन्तला र बिक्री गर्नका लागि राखेका बेर्नामा क्षति पुर्याएको बताए । असिनाले सुन्तलामा क्षति पुर्याएपछि दुई सयभन्दा बढी किसान प्रभावित भएका उनले जानकारी गराए । ‘किसानले सुन्तला बिक्री गरेर वार्षिक २५ करोड भित्रयाउँदै आएका थिए । उत्पादन घट्ने भएपछि चिन्ता छाएको छ,’ उनले भने ।
बन्गाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष रुद्र परियारले किसानको पाखोबारीमा पाकेर काट्न ठिक्क भएको गहुँबाली मात्र नभई, किसानले व्यावसायिक रुपमा लगाएको टिमुर, स्याउमा क्षति पुगेको बताए । क्षतिको विवरण संकलनका लागि किसानको पाखोबारी तथा फलफूल बगैंचामा निरीक्षण गर्न थालिएको उनको भनाइ छ । जिल्लाका धेरै स्थानमा क्षति भयो भन्ने जानकारी आए पनि पूर्ण विवरण आउन समय लाग्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए ।