काठमाडौँ । साताको पहिलो कारोबार दिनदेखि नै लगातार घटिरहेको शेयर बजारमा हप्ताको अन्तिम दिन भने सामान्य सुधार देखिएको छ। कारोबार अवधिभर उतारचढावका बीच नकारात्मक क्षेत्रमा रहे पनि अन्तिम समयमा सुधार आएसँगै नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शुक्रबार परिसूचक १.५४ अंकले वृद्धि भई २७८८.७० विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्समा ०.०६ अंकको वृद्धि देखिए पनि ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स भने ०.२० अंकले घटेको छ।
कारोबार रकममा सामान्य सुधार
परिसूचकसँगै यस दिन कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ। बिहीबार ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ। दिनभरमा ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार कित्ता शेयर कुल ७५ हजार २२९ पटक खरिदबिक्री भएका छन्।
सर्किट लेभलमा तीन कम्पनी, रिडीको सर्वाधिक कारोबार
आजको बजारमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अर्कोतर्फ, शेयर मूल्य घट्ने कम्पनीहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कममै सीमित रह्यो।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सको करिब २५ करोड र नेशनल हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
मिश्रित उपसमूहगत अवस्था
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ वटा उपसमूह घटेका छन्। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहका परिसूचकमा सुधार देखिएको छ। ‘अन्य’ उपसमूहको परिसूचक भने आज सबैभन्दा बढी १.०२ प्रतिशतले ओरालो लागेको छ।