काठमाडौं, वैशाख ९ । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको कारोबारसम्बन्धी जानकारी सार्वजनिक गरेको भन्ने आधारहीन प्रचारप्रति बैंकले सार्वजनिक रूपमा खण्डन गरेको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासमाथि आँच ल्याउने प्रयास गरेको देखिन्छ। हामी यस्तो प्रमाणविहीन दुष्प्रचारको पूर्ण रूपमा खण्डन गर्दछौं।”
बैंकले कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिँर्दा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारतर्फ ध्यानाकर्षण गराउँदै उक्त समाचारमा “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण…” भन्ने उल्लेख रहेको स्पष्ट पारेको छ। त्यस समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबारहरू सार्वजनिक भएको अवस्थामा केही व्यक्तिले एक्लै नबिल बैंकलाई निशाना बनाइ नियोजित दुष्प्रचार गरेको बैंकको ठहर छ।
नबिल बैंकले आफ्नो ग्राहकको सूचना गोपनीयताबारे स्पष्ट पार्दै भनेको छ “ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा कानूनी प्रक्रिया पूरा गर्ने नियामक तथा अनुसन्धान निकायबाट मागेको अवस्थामा बाहेक बैंकले कुनै पनि व्यक्ति, सञ्चार माध्यम वा अनधिकृत निकायलाई ग्राहकको जानकारी उपलब्ध गराउँदैन।”
बैंकले यो पनि स्पष्ट गरेको छ कि यदि कुनै अधिकृत व्यक्तिले ग्राहकको विवरण हेरेको अवस्थामा समेत नबिल बैंकको कोर बैंकिङ प्रणाली (सिस्टम) मा कुन मिति, कुन कर्मचारी र कुन प्रयोजनले विवरण निकालेको भन्ने पूरै लगत सुरक्षित अभिलेखित हुन्छ। त्यसकारण बैंकले अख्तियार बाहिर कुनै पनि सूचना चुहावट गर्न असम्भव रहेको जिकिर गरेको छ।
नबिल बैंकले ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकको हैसियतले प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन एवम् आन्तरिक सुशासन नीतिहरूको पालना गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोराएको छ।
“बैंकिङ गोपनीयता र ग्राहक सूचनाको संरक्षण बैंकिङ नैतिकता र अनुपालनको आधारभूत सिद्धान्त हो। हामीले सधैं उच्चतम मापदण्डको पालना गर्दै आएका छौं।”
चार दशकभन्दा बढीको विश्वसनीय इतिहास बोकेको नबिल बैंक जस्तो जिम्मेवार संस्थाले कुनै ग्राहकको व्यक्तिगत विवरण अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने सम्भावना नरहेको बैंकको भनाइ छ।
बैंकले तथ्यपूर्ण समाचारलाई बङ्ग्याउँदै गलत सूचना फैलाउने व्यक्ति तथा निकायलाई तुरुन्त यस्तो प्रवृत्ति नगर्न आग्रह गर्दैै चेतावनी दिएको छ:
“नियोजित दुष्प्रचार गर्ने व्यक्ति तथा निकायमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानून बमोजिम कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुनेछ।”
नबिल बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा यस्तो भ्रामक र दुष्प्रचारमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दै भनेको छ:
“हामीले ग्राहक गोपनीयता कायम गर्न, अत्याधुनिक प्रविधिहरूको प्रयोगबाट उच्चतम सुरक्षित सेवा प्रदान गर्दै आएका छौं। भविष्यमा पनि त्यसै गर्न हामी कटिबद्ध छौं।”
बैंकले आफूहरूले चालेका सुरक्षा मापदण्डबारे ग्राहकलाई थप आश्वस्त समेत बनाएको छ।