आर्टेमिस-२ को ऐतिहासिक सफलता: ४ अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गरी सकुशल पृथ्वीमा फिर्ता

आर्टेमिस-२ को ऐतिहासिक सफलता: ४ अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गरी सकुशल पृथ्वीमा फिर्ता

  • शनिबार, चैत्र २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 34.9K
    SHARES

वासिङ्टङ । चन्द्रमाको परिक्रमा गरेर करिब १० दिनको ऐतिहासिक अन्तरिक्ष यात्रापछि आर्टेमिस-२ मिसनका चार जना अन्तरिक्ष यात्रीहरू पृथ्वीमा सकुशल फर्किएका छन्। शुक्रबार उनीहरू सवार ‘ओरायन क्याप्सुल’ प्रशान्त महासागरमा सफलतापूवर्क अवतरण भएको हो।

आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्‍याएर सकुशल फर्काउने यो पहिलो मानवसहितको मिसन थियो। नासाको ‘इन्टिग्रिटी’ नाम दिइएको गमड्रप आकारको उक्त क्याप्सुल क्यालिफोर्नियाको दक्षिणी तटमा स्थानीय समयअनुसार बेलुकी ५ बजेपछि प्यारासुटको सहायताले समुद्रमा खसेको थियो।

खतरनाक १३ मिनेट र प्राविधिक सफलता
पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाको अन्तिम १३ मिनेट निकै चुनौतीपूर्ण र खतरनाक थियो। यस क्रममा क्याप्सुलको बाहिरी सतहको तापक्रम २ हजार ७ सय ६० डिग्री सेल्सियससम्म पुगेको थियो। अत्यधिक ताप र हावाको दबाबका कारण उत्पन्न प्लाज्माले गर्दा केही मिनेटका लागि यात्रीहरूसँगको रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

यद्यपि, सम्पर्क पुनः स्थापित भएसँगै क्याप्सुलका प्यारासुटहरू खुलेका थिए। यसले क्याप्सुलको गतिलाई प्रतिघण्टा २५ किलोमिटरमा झार्दै सुरक्षित रूपमा पानीमा अवतरण गराएको हो। यस सफलताले लकहिड मार्टिनले बनाएको ‘हिट सिल्ड’ र बोइङ तथा नर्थरोप ग्रुम्यानले विकास गरेको ‘एसएलएस’ रकेट मानिसलाई सुरक्षित रूपमा अन्तरिक्षमा लैजान सक्षम रहेको प्रमाणित गरेका छन्।

मिसनले बनाएका नयाँ कीर्तिमानहरू
अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट उडेको यो मिसनले कुल ११ लाख १७ हजार ५ सय १५ किलोमिटरको यात्रा तय गरेको थियो। यस यात्राका क्रममा यात्रीहरू पृथ्वीबाट ४ लाख ६ हजार ७ सय ७१ किलोमिटर टाढासम्म पुगेका थिए, जसले सन् १९७० मा एपोलो-१३ ले बनाएको सर्वाधिक दूरीको कीर्तिमानलाई समेत तोडेको छ।

यस मिसनमा सहभागी यात्रीहरूले पनि व्यक्तिगत इतिहास रचेका छन्। ५० वर्षीय रिड वाइसम्यानले नेतृत्व गरेको यस टोलीमा ४९ वर्षीय भिक्टर ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत, ४७ वर्षीया क्रिस्टिना कोच पहिलो महिला र ५० वर्षीय जेरेमी ह्यान्सन पहिलो गैर-अमेरिकी (क्यानेडियन) नागरिक बनेका छन्।

भावी लक्ष्य: चन्द्रमा र मंगल ग्रह
सन् २०२२ को मानवरहित परीक्षणपछि यो मानवसहितको पहिलो सफल उडान हो। यसको मुख्य उद्देश्य सन् २०२८ सम्ममा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा उतार्ने र भविष्यमा मंगल ग्रहसम्मको मानव यात्राका लागि आधार तयार पार्नु हो।

अवतरणपछि नासा र अमेरिकी नौसेनाको टोलीले यात्रीहरूको उद्धार गरी प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि नजिकैको पानीजहाजमा लगेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी