काठमाडौँ । पश्चिम एसियामा जारी तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र उछालका कारण नेपाल आयल निगम चरम वित्तीय संकटमा परेको छ। निगमले एक सार्वजनिक अपिल जारी गर्दै हालको अवस्थामा पेट्रोलियम पदार्थको खपत नघटाए र मूल्य समायोजन नगरे मुलुकमा इन्धनको ठुलो हाहाकार हुन सक्ने चेतावनी दिएको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको मूल्य वृद्धिलाई आधार मान्दा निगमलाई पाक्षिक रूपमा करिब १४ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ। यो भनेको दैनिक करिब ९३ करोड रुपैयाँको नोक्सानी हो। सरकारले चैत २४ गते भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारको वृद्धिका कारण त्यसको प्रभाव न्यून देखिएको निगमको दाबी छ।
बढ्दो घाटा र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम व्यवस्थापन गर्न निगमले चैत २६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। नयाँ मूल्य दर अनुसार:
पेट्रोल: प्रतिलिटर १७ रुपैयाँ वृद्धि
डिजेल र मट्टितेल: प्रतिलिटर २५ रुपैयाँ वृद्धि
एलपी ग्यास: प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि
हवाई इन्धन: प्रतिलिटर ६ रुपैयाँ वृद्धि
यति ठुलो मूल्य वृद्धि गर्दा पनि निगमलाई अझै पाक्षिक करिब ८ अर्ब रुपैयाँ घाटा रहने प्रक्षेपण गरिएको छ। निगमले ८ अप्रिलमा आईओसीलाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने आगामी २३ अप्रिलको किस्ताका लागि थप १६ अर्ब ३७ करोड रुपैयाँ जुटाउनुपर्ने चुनौती छ।
श्रीलंका, पाकिस्तान र बंगलादेश जस्ता मुलुकहरूले इन्धन संकट टार्न कोटा प्रणाली, जोर–बिजोर र अनलाइन कक्षा जस्ता कठोर कदम चालेको स्मरण गराउँदै निगमले नेपाली उपभोक्तालाई मितव्ययिता अपनाउन आग्रह गरेको छ। “नेपाल इन्धनमा पूर्णतः परनिर्भर रहेकाले अहिलेको अवस्थामा खपत घटाउनु नै एकमात्र विकल्प हो,” निगमद्वारा जारी अपिलमा उल्लेख छ।
निगमको तथ्याङ्क अनुसार यदि प्रत्येक बाइक चालकले प्रतिदिन १ लिटर र एक गाडी चालकले १ लिटर मात्र इन्धन बचत गर्न सकेमा राज्यको दैनिक २६ करोड रुपैयाँ जोगिनेछ। यसरी १५ दिनमा ३९० करोड रुपैयाँ बचत हुन सक्ने भन्दै निगमले सवारी साधनको अनावश्यक प्रयोग नगर्न र इन्धन खपतमा संयमता अपनाउन सर्वसाधारण र सरोकारवालासँग अपिल गरेको छ।