काठमाडौँ । लामो समयदेखि रोकिएको सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले स्वीकृति दिएका छन्। यातायात व्यवस्था विभागले इन्धन र अन्य सूचकमा भएको मूल्यवृद्धिका आधारमा गरेको प्रस्तावलाई मन्त्रीले सदर गरेसँगै भोलिदेखि नयाँ भाडादर कायम हुने भएको हो।
यातायातमन्त्रीको सचिवालयका अनुसार भाडा समायोजनको फाइल मन्त्रालयबाट उठिसकेको र भोलिदेखि नै कार्यान्वयनमा जाने गरी निर्णय भएको छ।
इन्धनको चर्को मूल्यवृद्धि: चैत महिनामा मात्रै डिजेलको मूल्य प्रतिलिटर ४० रुपैयाँले बढिसकेको छ। चैत २ गते १० रुपैयाँ, ११ गते १५ रुपैयाँ र १९ गते पुन: १५ रुपैयाँ गरी मूल्य आकाशिएको हो।
अन्तर्राष्ट्रिय संकट: इरान-इजरायल तनाव र हर्मुज घाँटीमा अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ।
वैज्ञानिक प्रणाली: भाडा निर्धारणमा ३५% भार इन्धनको र ६५% भार टायर, लुब्रिकेन्ट, पार्टपुर्जा तथा बैंक ब्याजको रहने गर्दछ। यी सबै क्षेत्रमा मूल्यवृद्धि भएकाले भाडा बढाउनुपर्ने दबाबमा सरकार पुगेको हो।
विभागको प्रारम्भिक तथ्याङ्क अनुसार सवारी साधनको भाडा करिब १६ प्रतिशतको हाराहारीमा वृद्धि हुने देखिएको छ। यसअघि निवर्तमान मन्त्री मावप्रसाद चौलागाईंको पालामा यात्रुवाहक तर्फ ११.३३ प्रतिशत र पहाडी मालवाहक तर्फ १४.२९ प्रतिशत भाडा बढाउने प्रस्ताव गरिएको थियो, जसमा अहिले थप वृद्धि हुने निश्चित छ।
कार्यविधि अनुसार इन्धनको मूल्य ५ प्रतिशतले घटबढ हुँदा विभागले आफैँ भाडा समायोजन गर्न सक्ने भए पनि विगत १५ महिनादेखि यो प्रणाली ठप्प थियो। पछिल्लो पटक २०८१ पुस २२ गते भाडा समायोजन गरिएको थियो।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले इन्धनको मूल्य अत्यधिक बढ्दा पनि भाडा समायोजन नगरे गाडी चलाउन नसकिने चेतावनी दिँदै आएको थियो।