चैत २३, काठमाडौं । सगरमाथा आरोहणका क्रममा विदेशी आरोहीलाई विषयुक्त खाना खुवाइ झुट्टा उद्धार गरेको सम्बन्धमा सरकारले चासो नदिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले विदेशी सञ्चारमाध्यमले पनि आरोहणमा विष खुवाई झुट्टा उद्धार सम्बन्धमा समाचार प्रकाशनले यस क्षेत्रको बदनाम भएको उनीहरूको भनाइ छ ।
हिमाल आरोहणको सिजन सुरु भएको समयमा सगरमाथा आरोहणका क्रममा भएको यो घटनालाई अतिरञ्जित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउनु यस क्षेत्रको हितमा नभएको उनीहरूले यो गलत सूचनाको सरकारले तत्काल नै खण्डन गर्नुपर्ने बताए।
कार्यक्रममा सहभागी सगरमाथा कान्छा आरोही टासी लाक्पा शेर्पाले सरकारले उक्त समाचारको तत्काल खण्डन गर्दै गलत सूचना फैलाउनेलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । उनले यो गलत समाचारले शेर्पा र माउन्टेन गाइडको नै शिर निहुरिएको बताउँदै सरकारले तत्काल प्रेस विज्ञप्तिमार्फत उक्त गलत समाचारको खण्डन गर्नुपर्ने बताए ।
ट्रेकिङ एजेन्सी एसोसियसन नेपालका अध्यक्ष सागर पाण्डेले २०७५ मा नै आएको झुट्टा उद्दार सम्बन्धी कार्यविधिको कार्यान्वयन नहुँदा आजको दिन बेहोुर्न परेको बताउदै यसले संसारमा शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको बताए ।
यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जी शेर्पाले सरकारले केन्द्रबाट नै हिमाल आरोहीहरूको खाद्य पोषण निरीक्षण गर्ने संयन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।
पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीले हिमाल आरोहीले पनि फेक रेस्क्यु गरिरहेका छन् भन्ने समाचार गलत भएको भन्दै यसको सत्यतामा जानुपर्ने बताए । उनले केन्द्रीय समन्वयात्मक उद्धार प्रणाली खडा गरी हिमाल आरोहणमा हुने उद्धारका काम त्यहीँबाट मात्र गर्नुपर्ने बताए । नेपालको छवि धमिल्याउने काम भएकाले राज्य संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने उनको जोड थियो । उनले अनअराइभल विमाको व्यवस्था सुरु गर्न पनि सरकारसँग आग्रह गरे ।
यस्तै, कार्यक्रममा नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष निमा नूर शेर्पाले फेक रेस्क्युको सम्बन्धमा सबै क्षेत्रलाई जिम्मेवार बनाएर अघि बढ्नुपर्ने बताए । उनले उद्धार गर्दा दर रेट तोकेर पनि यसलाई नियमन गर्न सकिने उल्लेख गरे । आन्तरिक वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले फेक रेस्क्युमा सबै निकाय जिम्मेवार हुनुपर्ने भन्दै नियन्त्रणभन्दा पनि नियमन गर्न आवश्यक रहेको बताए । उनले उद्धारका लागि हेलिकप्टरको शुल्क न्यूनतम रहेको उल्लेख गरे तर लङलाइन उद्धारमा भने जोखिम बढी हुने भएकोले शुल्क निर्धारण नभएको स्पष्ट पारे ।
अप्निनका उपाध्यक्ष डा. श्यामकृष्ण जोशीले अस्पतालले उपचार दिँदा स्वदेशी र विदेशीभन्दा पनि आवश्यकताका आधारमा उपचार र शुल्क लिने गरेको स्पष्ट पारे । उनले उद्धारका लागि एकद्वार प्रणाली र मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले उद्धार उडान आपत्कालीन हुने भएकाले यो प्रक्रियालाई लम्ब्याउन नहुने बताए । प्राधिकरणले नियम संगत ढंगले नै उद्धार उडान अनुमति हेलिकप्टर कम्पनीलाई दिँदै आएको बताए । उनले अस्पतालमा भएका हेलिप्याडमा बिरामीको उद्धारभन्दा अन्य घटना दोहिरिए हेलिप्याड हटाउने चेतावनी दिए ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हिमाल आरोहणमा हुने उद्धार उडानलई प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित राख्न आवश्यक भएको बताए । फेक रेस्क्यु गर्नेलाई कारबाहीमा ल्याउन पर्ने भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले यस सम्बन्धमा जाँच गरिरहेको जानकारी दिए । कार्यक्रममा मन्त्रालयमा सचिव मुकुन्द निरौलाले यस सम्बन्धमा अध्ययन गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।