क्यानेभरल, फ्लोरिडा (अप्रिल २, २०२६) – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आज बिहान ऐतिहासिक ‘आर्टेमिस–२’ मिसन अन्तर्गत चार अन्तरिक्ष यात्रुलाई चन्द्रमाको परिक्रमामा पठाएको छ। करिब ५३ वर्षपछि मानव चन्द्रमाको नजिक पुगेको यो पहिलो पटक हो ।
नेपाली समय अनुसार आज बिहान ४:२० बजे (अमेरिकी पूर्वी समय अनुसार साँझ ६:३५ बजे) ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो । करिब ३२ तला अग्लो यो रकेट आकाशमा उडेपछि प्रक्षेपण स्थलमा हजारौं दर्शकले ताली बजाएका थिए ।
यी हुन् चार यात्रु
‘आर्टेमिस–२’ मिसनको क्याप्सुल ‘ओरियन’ मा सवार चार सदस्यीय टोलीमा तीन जना अमेरिकी र एक जना क्यानेडियन अन्तरिक्ष यात्री रहेका छन् ।
यो टोलीले इतिहास रच्दै विभिन्न सामाजिक विविधताका प्रतिनिधित्व गरेको छ:
रिड वाइजम्यान (कमाण्डर) : टोलीका नेता ।
भिक्टर ग्लोभर (पाइलट) : चन्द्रमा यात्रा गर्ने पहिलो अश्वेत व्यक्ति ।
क्रिस्टिना कोच (मिसन स्पेसलिस्ट) : चन्द्रमा यात्रा गर्ने पहिलो महिला ।
जेरेमी हान्सेन (मिसन स्पेसलिस्ट) : क्यानडाको अन्तरिक्ष एजेन्सीका सदस्य, चन्द्रमा नजिक पुग्ने पहिलो गैर-अमेरिकी नागरिक ।
यो दश दिने मिसनको मुख्य उद्देश्य भनेको चन्द्रमाको परिक्रमा गरी फर्कने क्रममा ‘ओरियन’ क्याप्सुलको सबै प्रणाली (जीवन रक्षा प्रणाली, प्रणोदन, सञ्चार आदि) को परीक्षण गर्नु हो । अन्तरिक्ष यात्रीहरुले पृथ्वीको कक्षबाट चन्द्रमातर्फ जाने बाटोमा यी सबै उपकरण जाँच गर्नेछन् र स्वचालित प्रणाली बिग्रिएको अवस्थामा म्यानुअल रुपमा नियन्त्रण गर्ने अभ्याससमेत गर्नेछन् ।
यो मिसन चन्द्रमामा मानव पुनः अवतरण गराउने तयारीको पहिलो महत्वपूर्ण कदम हो। नासाले सन् २०२८ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ ।
यदि सबै योजना अनुसार भयो भने, अन्तरिक्ष यात्रीहरु पृथ्वीबाट करिब ४ लाख ६ हजार किलोमिटर (२५२,००० माइल) टाढासम्म पुग्नेछन् । यो सन् १९७० मा ‘अपोलो–१३’ ले बनाएको ‘पृथ्वीबाट मानव सबैभन्दा टाढा पुग्ने’ रेकर्डलाई समेत उछिनेको हुनेछ ।
प्रक्षेपणअघि प्राविधिक समस्याका कारण तनाव देखिएको थियो। यस वर्षको सुरुमै हाइड्रोजन चुहावटका कारण मिसन स्थगित गरिएको थियो भने आज पनि उडान अन्तिम समयमा फ्लाइट टर्मिनेशन सिस्टम र ब्याट्रीको समस्या देखिएको थियो, जुन पछि समाधान गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोशल’ मा यो प्रक्षेपणलाई अमेरिकी नेतृत्वको प्रतीक बताउँदै टोलीलाई शुभकामना दिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले समेत क्यानाडियाली अन्तरिक्ष यात्री हान्सेनलाई पत्र लेखी शुभकामना दिएका छन् ।
यो मिसन सफल भएमा नासाले अर्को चरणमा चन्द्रमामा दिगो मानव बस्ती बसाउने दिशामा अघि बढ्ने छ, जसले भविष्यमा मंगल ग्रहको यात्राको बाटोसमेत खोलिदिने अपेक्षा गरिएको छ ।