पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • बिहिबार, फाल्गुन २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

भैरहवा (रुपन्देही), २८ फागुनः रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भभइपर्छ । अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।
“उहाँले धेरै दुखजिलो गरेर पुल बनाउनुहुन्छ । यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,” उहाँले भन्नुभयो, “तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ । पुल टुटने डरले मानिस घाइते हुन सक्छन्, सवारी साधनको पनि क्षति हुन सक्छ ।”

उहाँका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो । मर्चवारबाट सिधैँ कक्रहवा, लुम्बिनीहुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ ।

भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताउनुहुन्छ । अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने गरेको उहाँको भनाइ छ ।

“अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,” उहाँले भन्नुभयो, “यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रुपमा आवतजावत गर्न सकिन्थ्यो । पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बर्डर हुँदै घुमेर जानुपर्छ ।”

स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ ।
“यस पारिका मानिसहरुको खेत उता छ भने उता बस्नेको खेतयता छ,” उहाँले भन्नुभयो, “बाढी आउँदा त कोही पनि आउनजान सक्दैनन् । त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ ।”

स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ । पुल निर्माणका लागि उनीहरूले झण्डै एक महिना अघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन् ।तयार भएको पुल कुर्न बासमति मल्लाह दिनभरि घाटमै बस्नुहुन्छ । परिवारका तीन जनाले मिलेर पुल बनाएका बासमतीले दिनको कहिले १००, कहिले १५० त कहिले २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । बाटो हिँड्नेले गच्छे अनुसार ५, १० वा २० रुपैयाँसम्म “मल्लाही” तिर्छन ।“यही घाटको आम्दानीबाट नून–तेल र घरखर्च चल्छ,” बासमतीले भन्नुभयो, “हामीसँग आफ्नै खेतीपाती छैन ।

यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो ।”उहाँले स्थानीयहरुले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँ लगायतको जिन्सी (जिउका) लिने गरेको बताउनुभयो । जिउका बापत चार देखि १० पाथीसम्म प्रति घर अन्न पाउने गरेको उहाँको भनाइ छ ।

वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौँदेखि सरकारसँग माग गर्दै आएका छन् ।स्थानीयवासीका अनुसार बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी