बुधबार पनि नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको १ लाख १५ हजार ५५० पटकको कारोबारमा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।