आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता

आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता

  • बुधबार, फाल्गुन २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २० फागुनः नेपालले आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड शो आइटिबी (इन्टरनेसनल टुरिजम् एक्सचेञ्ज), बर्लिनमा सहभागिता जनाउदै पर्यटनको सम्भावना लाई विश्व सामु पुनःस्थापन गर्ने प्रतिबद्धता जनाएको हो ।
यही मार्च ३ तारिखदेखि सुरु भई ५ तारिखसम्म जारी रहने
आइटिबी बर्लिनमा नेपालको सहभागिता व्यापारिक उपस्थिति मात्र नभई विश्व पर्यटन बजारमा नेपालको सम्भावनालाई पुनःस्थापित गर्ने रणनीतिक प्रयास भएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताउनुभयो ।

हिमालयका रोमाञ्चक ट्रेकिङ पदमार्गदेखि प्राचीन मन्दिरहरूको सम्पदा, शान्त परिवेश, विविध सांस्कृतिक तथा धार्मिक परम्परा, अनुपम प्राकृतिक सौन्दर्यलगायत अनुभवलाई अन्तरराष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्य बोर्डले अघि सारेको उहाँले जानकारी दिनुभयो ।

बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयाँलले नेपाल प्याभिलियनको उद्घाटन र अवलोकन गर्नुभएको थियो । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत रेग्मी, सिर्जना नेपाली र शिवराज पाण्डे उपस्थिति थियो ।

बोर्डका वरिष्ठ अधिकृत रेग्मीले भन्नुभयो, “आइटिबी बर्लिनमा नेपालको सहभागिता अन्तरराष्ट्रिय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मात्र होइन, नेपालको पर्यटन सम्भावनालाई विश्वसामु पुनःप्रस्तुत गर्ने प्रतिबद्धता पनि हो । चुनौतीका बाबजुत नेपाललाई ‘घुम्नैपर्ने गन्तव्य’का रूपमा स्थापित गर्न हामी लागिरहेका छौँ ।”

उहाँका अनुसार नेपाल अब केवल हिमाल आरोहण वा ट्रेकिङमा सीमित गन्तव्य नभई बहुआयामिक अनुभव प्रदान गर्ने समग्र पर्यटन गन्तव्यका रूपमा उभिएको छ । प्याराग्लाइडिङ, बन्जीजम्प, राफ्टिङ, माउन्टेन बाइकिङलगायत साहसिक खेलकुदसँगै ऐतिहासिक दरबार क्षेत्र, प्राचीन मन्दिर, बौद्ध स्तूप र जीवित सांस्कृतिक सम्पदाको अवलोकन गर्न सकिने अवसर नेपालमा उपलब्ध छन् ।

साथै योग ध्यान, आयुर्वेदिक उपचार तथा प्राकृतिक परिवेशमा सञ्चालन हुने ‘वेलनेस रिट्रिट’हरूले मानसिक तथा शारीरिक सन्तुलन खोज्ने पर्यटकलाई आकर्षित गरिरहेका रेग्मीले उल्लेख गर्नुभयो । समुदायमा आधारित होमस्टे, वातावरणमैत्री रिसोर्ट तथा स्थानीय उत्पादनमा आधारित सेवाले नेपालको पर्यटनलाई दिगो र समावेशी बनाउने प्रयासलाई थप सुदृढ बनाएको उहाँको भनाइ छ ।

विश्व बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नो मौलिकता, प्राकृतिक सम्पदा र आत्मीय आतिथ्यलाई बलियो ब्रान्डका रूपमा स्थापित गर्न खोजिरहेको वरिष्ठ अधिकृत रेग्मीले बताउनुभयो । एकै गन्तव्य, अनेक अनुभवको अवधारणामार्फत अन्तरराष्ट्रिय यात्रुलाई साहसिकता, आध्यात्मिक शान्ति र सांस्कृतिक गहिराइको समग्र अनुभव दिने दीर्घकालीन रणनीति बोर्डले अघि बढाएको जनाएको छ ।

आइटिबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरूको सहभागितामार्फत अन्तरराष्ट्रिय ट्राभल एजेन्सी, उद्योग व्यवसायी तथा सञ्चारमाध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सिर्जना गर्ने बोर्डको अपेक्षा छ । नेपालले विश्वभरका यात्रुलाई आफ्नो अतुलनीय सौन्दर्य, समृद्ध संस्कृति र आत्मीय आतिथ्य अनुभवका लागि नेपाल घुम्न आउन पनि बोर्ड सबैलाई आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी