टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम

टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम

  • शुक्रबार, माघ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 51.7K
    SHARES

सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको प्लेटफर्ममाथि सम्भावित प्रतिबन्धको खतरा टरेको छ ।

कम्पनीले नयाँ ‘टिकटक युएस’ नामक संयुक्त उद्यम गठन गर्न ओरेकल, सिल्भर लेक तथा संयुक्त अरब इमिरेट्सको लगानी फर्म एमजिएक्ससहित प्रमुख लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेको हो । टिकटकले बिहीबार जारी गरेको विज्ञप्तिमा नयाँ संस्करण ‘परिभाषित सुरक्षा उपायहरू अन्तर्गत सञ्चालन हुने, जसले व्यापक डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री नियमन तथा अमेरिकी प्रयोगकर्ताहरूका लागि सफ्टवेयर आश्वासनमार्फत राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने’ स्पष्ट गरेको छ । यस सम्झौतापछि पनि अमेरिकी प्रयोगकर्ताहरूले उही टिकटक एप प्रयोग गर्न सक्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत सम्झौताको स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति ‘हामीसँग सहकार्य गरी अन्ततः सम्झौतालाई अनुमोदन गरेकोमा’ विशेष धन्यवाद दिनुभएको छ । उहाँले भविष्यमा टिकटक प्रयोग गर्नेहरूले आफूलाई सम्झने आशा पनि व्यक्त गर्नुभएको छ ।

यस विषयमा चिनियाँ सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । यद्यपि, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्ग्युले यसअघि नै टिकटकप्रति चीनको धारणा ‘स्थिर र स्पष्ट’ रहेको बताउनुभएको थियो ।

नयाँ संयुक्त उद्यमको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा एडम प्रेसर नियुक्त हुनुभएको छ । उहाँले सात सदस्यीय, बहुमत अमेरिकी सदस्य रहेको निर्देशक मण्डलसँग सहकार्य गर्नुहुनेछ, जसमा टिकटकका वर्तमान सिइओ शौ च्यु पनि सदस्य हुनुहुन्छ ।

यस सम्झौताले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्यबारे लामो समयदेखिको अनिश्चिततालाई अन्त्य गरेको छ । कङ्ग्रेसमा द्विदलीय समर्थनसहित पारित र तत्कालीन राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षर गरिएको कानूनअनुसार, बाइटडान्सले नयाँ अमेरिकी स्वामित्व नदिए टिकटक जनवरी २०२५ मा प्रतिबन्धमा पर्ने अवस्था थियो । केही समयका लागि प्लेटफर्म बन्दसमेत भयो । तर कार्यकालको पहिलो दिनमै राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत टिकटक सञ्चालनको अनुमति दिनुभएको थियो र बिक्रीसम्बन्धी सम्झौता खोज्न निर्देशन दिनुभएको थियो ।

सम्झौताअनुसार, अमेरिकी प्रयोगकर्ताहरूको डाटा ओरेकलद्वारा सञ्चालित प्रणालीमा स्थानीय रूपमा भण्डारण हुनेछ । साथै, टिकटकको सामग्री सिफारिस एल्गोरिदमलाई अमेरिकी प्रयोगकर्ता डाटाका आधारमा पुनः तालिम, परीक्षण र अद्यावधिक गरिनेछ । एल्गोरिदमकै विषयलाई लिएर सुरक्षा बहस चर्किएको थियो, किनभने चीनले यसलाई आफ्नै नियन्त्रणमा रहनुपर्ने बताउँदै आएको थियो । तर अमेरिकी कानूनले बाइटडान्ससँगको सम्बन्ध, विशेष गरी एल्गोरिदममा, विच्छेद हुनुपर्ने व्यवस्था गरेको छ । यस सम्झौताअन्तर्गत भने बाइटडान्सले एल्गोरिदम पुनः प्रशिक्षणका लागि अमेरिकी निकायलाई इजाजतपत्र दिनेछ ।

यद्यपि, कानूनले सामग्री सिफारिस एल्गोरिदम सञ्चालनमा बाइटडान्स र नयाँ अमेरिकी स्वामित्व समूहबीच कुनै सहकार्य निषेध गरेकाले, यस व्यवस्थाको व्यावहारिक कार्यान्वयन कसरी हुने भन्ने प्रश्न अझै खुला रहेको विज्ञहरू बताउँछन् । जर्जटाउन विश्वविद्यालयका कानून तथा प्रविधि प्राध्यापक अनुपम चन्दरले भन्नुभयो, “अमेरिकामा टिकटकलाई कसले नियन्त्रण गर्छ भन्ने कुराले अमेरिकीहरूले एपमा के देख्छन् भन्ने विषयमा ठूलो प्रभाव पार्छ ।”

लगानी संरचनाअनुसार, ओरेकल, सिल्भर लेक र एमजिएक्स तीनै प्रबन्ध लगानीकर्तासँग १५–१५ प्रतिशत सेयर रहेको छ । अन्य लगानीकर्तामा डेल टेक्नोलोजीका संस्थापक अर्बपति माइकल डेलको लगानी फर्म पनि समावेश छ । बाइटडान्सले भने संयुक्त उद्यममा १९.९ प्रतिशत हिस्सा कायम राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी