गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।
गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो।
आफू सभापतिमा निर्वाचित भएपछि गगन थापाले बैठक पार्टी मुख्यालयमा बोलाएका हुन् ।
कांग्रेस कार्यसमितिका सचिव केशव दुलालले बैठकका लागि अहिले पदाधिकारीका कार्यकक्ष तयार पार्ने तथा कार्यालय सफाइ गर्ने काम भइरहेको नेपालखबरलाई जानकारी दिए।
शुक्रबार सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै दायर गरेको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सभापति थापा सानेपाबाटै पार्टी सञ्चालनको तयारीमा जुटेका हुन्।