३० पुस, काठमाडाैं । मुलुकका सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस व्यवहारिक रूपमै फुटेसँगै गगन थापा समूहमा गुरूराज घिमिरे र प्रदीप पाैडेल महामन्त्रीमा निर्वाचित हुने निश्चित भएका छन् । तत्कालिन महामन्त्री गगन र वसश्वप्रकाशकाे स्थान उनीहरूलाई प्राप्त हुने भएकाे हाे । विधानतः आवश्यक दुई महामन्त्रीमा उनीहरू दुई जनाकाे मात्र उम्मेद्वारी परेकाे छ ।
यसअघि जेन जी आन्दाेलनपछि पद छाड्न दबाब भइरहेपनि पार्टी सभापति शेरबहादुर देउवा सभापतिबाट टसमस नभएपछ कांग्रेसमा तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ नीति र नेतृत्व बनाउने पहलकदमी लिँदै आएकामा आज भने दुई कित्ता विभाजन भएकाे छ ।
गगन-विश्व समूहले गएकाे चार दिनदेखि भृकुटीमण्डपमा पार्टी विधानबमाेजिम विशेष महाधिवेशन जारी राखेकाे छ । साेही क्रममा पदाधिकारीमध्ये दुई महामन्त्री सर्वसम्मत चयन भएका हुन् । सभापतिमा गगन सर्वसम्मत हुने पक्का भएकाे । अब दुई उपसभापति र ८ सहमहामन्त्री चयन गरिँदैछ । उपसभापतिमा तत्कालिन सह-महामन्त्री फरमुल्लाह मन्सुरले उम्मेद्वारी दर्ता गराइसकेका छन् भने एक उपसभापतिमा तत्कालिन महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गर्ने निश्चितप्रायः भएकाे छ ।
काेषाध्यक्ष भने सभापतिले चयन गर्ने विधानकाे प्रावधान छ । केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत चयन गर्ने प्रयास भइरहेकाे एक महाधिवेशन प्रतिनिधिले बताए । उनका अनुसार अहिले हलमा धेरैले विभिन्न पदमा उम्मेद्वारी दर्ता भएपनि सिंगाे नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउने प्रयास भइरहेकाे छ ।
महामन्त्रीमा निरणवाचित घिमिरे पार्टीभित्र इमान्दार, निष्ठावान र वैचारिक नेताका रूपमा परिचित छन् । पाैडेल जेन जी आन्दाेलनलगत्तै मन्त्री पदबाट राजीनामा दिने पहिलाे मन्त्री थिए । उनले त्यहि क्षणबाट कांग्रेसलाई रूपान्तरण गर्दै युवाहरूकाे भराेसा र भविष्य देख्ने दल बनाउन पहल गर्दै आइरहेका थिए ।
विशेष महाधिवेशनमा पार्टीका ५६ प्रतिशत प्रतिनिधि सहभागी रहेका जनाइएकाे छ । कांग्रेस विधानले महाधिवेशन प्रतिनिधकाे ४० प्रतिशतले विशेष महाधिवेशन गराउन सक्ने व्यवस्था छ । त्यसैमा टेकेर गगन समुहले देउवालाई विस्थापन गरेर नयाँ केन्द्रीय कार्य समिति निर्वाचित गर्ने बाटाे समातेकाे हाे ।
अब भने पार्टीकाे चिन्ह, नाम, झण्डा, विधान कानूनी रूपमा आफ्नाे पक्षमा पार्न निर्वाचन आयाेगमा दाबी पेश गर्न दुवै पक्ष जाने भएका छन् ।