नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्। यो समझदारीलाई अन्तिम रूप दिन आज साँझ थप छलफल गर्दैछन् ।
सोमबार बिहान कांग्रेस र एमालेबीच छलफल भएको थियो। त्यस छलफलमा सिट बाँडफाँट गरेर जाने समझदारी भएको थियो। काँग्रेस र एमालेबीच समझदारी पछि अन्य पार्टीहरुसँग पनि छलफल गर्ने तयारी भएको बुझिएको छ ।
एमालेले मंगलबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ। त्यसअघि नै दुई पार्टीबीच सहमतिको टुंगो लाग्ने छ।
राष्ट्रियसभाको रिक्त १९ स्थान मध्ये १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि पुस २३ गते नै उम्मेदवारी दर्ता गर्नुपर्ने छ। रिक्तमध्ये एक स्थान चाहिँ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटा हो।
निर्वाचन हुने १८ मध्ये ७ स्थान नेपाली कांग्रेसले लिने, एमालेले ६ स्थान लिने, नेपाली कम्युनिस्ट पार्टीलाई ४ र मधेसवादी दल (जनता समाजवादी पार्टी नेपाल) लाई एक स्थान छाड्ने गरी छलफल अघि बढेको छ। सम्भवतः यही सिट संख्यामा सहमति जुट्ने छ।